दुर्गा प्रसाईंलाई ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
शुक्रबार झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत प्रसाईंलाई काठमाडौं ल्याइएको हो । विमानस्थलसम्म हतकडी लगाएर ल्याइएका प्रसाईंलाई विमानमा चढाउँदा भने हतकडी खोलिएको थियो । तर, विमान काठमाडौं अवतरण गरेपछि भने प्रसाईंको हातमा फेरि हतकडी लगाइएको छ ।प्रसाईंलाई शुक्रबारै म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ । त्यसका लागि प्रहरीले कागजात तयार पारिसकेको छ । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ ।
प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।
घटनालगत्तै फरार भएका प्रसाईं भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।
तस्बिर: राजकुमार ओली \रासस\ बिर्तामोड