जगमान गुरुङले वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने

काठमाडौं । राजसंस्था पुर्नस्थापनाका लागि गठन भएको जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा. जगमान गुरुङले वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।
काठमाडौंमा समितिले बुधबार आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा बोल्दै उनले त्यसलाई रोक्न सरकारले चैत १५ गतेको कार्यक्रमपछि जारी भएका वारेन्ट खारेज गर्नुपर्ने र नेता नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने सर्त राखेका छन् ।
‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने २२ गते हामी सामूहिक गिरफतारी दिन्छौँ,’ गुरुङले भने, ‘सबैभन्दा पहिले मै हिँड्छु, म ७८ वर्षको सुगर बिरामी माटोको टिका लगाएर मै हिँड्छु, तपाईंहरु को आउनुहुन्छ, आउनुहोस्, २२ गतेको दिनमा सामूहिक गिरफ्तारी दिने ।’