रास्वपाले बुधबारलाई डाक्याे सचिवालय बैठक

निरन्तर न्यूज
२५ चैत्र २०८१, मंगलवार १८:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । उक्त बैठक चैत २७ गते दिनको ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि रास्वपाले पार्टीको दिशा तय गर्न बैठक बोलाएको हो ।

बैठकका मुख्य विषयवस्तु अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम रहेको उनले बताए । यस्तै पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूका सम्बन्धमा पनि नयाँ निर्णय लिन सकिने रास्वपा नेताहरूले बताएका छन् ।

गत शुक्रबार रूपन्देही जिल्ला अदालतले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै बूढानीलकण्ठस्थित निवासबाट प्रहरी पक्राउ गरेको थियो । उनलाई सोमबार मात्र भैरहवा कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु