८४ कम्पनीको आइपिओ अनुमति माग अलपत्र

काठमाडौं । अहिले नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) का लागि पाइपलाइनमा रहेका कम्पनीको संख्या ८४ पुगेको छ ।
बोर्डका अनुसार हाल उक्त कम्पनीले ५४ अर्ब ३४ करोड ७१ लाख ६१ हजार ३३२ रुपैयाँ बराबरको ३८ करोड ७३ लाख ८४ हजार ८८२ कित्ता निष्काशनका लागि अनुमति माग गरेका छन । तर समयमा निणर्य हुन नसक्दा सेबोनमा आईपिओका लागि अनुमति माग्ने कम्पनीहरुको चाङ लागेको छ ।
अनुमतिका लागि पाइपलाइनमा रहेका कम्पनी मध्ये सबैभन्दा बढी हाइड्रोपावर कम्पनी रहेका छन् । हाल बोर्डमा बोर्डमा ४३ हाइड्रोपावर कम्पनी, १६ उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी, ७ होटल तथा पर्यटन क्षेत्रका कम्पनी, ६ वटा माइक्रो इन्स्योरेन्स कम्पनी, माइक्रो फइनान्स एक र अन्य क्षेत्रका ११ वटा कम्पनी निष्कृशन प्रक्रयामा रहेका छन् ।
लामो समयपछि बोर्डले नेतृत्व पाउँदा पाइपलाइनमा रहेका आईपीओ निष्कासन हुने अपेक्षा आम लगानीकर्ताहरुले गरेका थिए । गत मंसिर दोस्रो साता बोर्डको अध्यक्षमा नियुक्त भएका सन्तोष नारायण श्रेष्ठले एकाध बाहेक अन्य कम्पनीको सेयर निष्काशनको अनुमति दिन सकेका छैनन् । बोर्डमा आइपिओ निष्कासन गर्न माग गर्दै आवेदन दिने कम्पनीहरूको चाङ लागे पनि श्रेष्ठले कुनै चासो नदेखाएको गुनासो आइरहेको छ ।
सार्वजनिक लेखा समितिको हस्तक्षेप, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परिक्षकले देखाएको कैफियतका कारण श्रेष्ठले सेयर निष्काशनको अनुमति दिन सकिरहेका छैनन । लेखा समितिले गत पुसमा प्रतिसेयर नेटवर्थ ९० प्रतिशत भन्दा कम भएका कम्पनीहरुलाई आइपिओ स्वस्कृति नदिन निर्देशन दिएको थियो ।
समितिको निर्देशन वेवास्ता गरेर निष्काशनको स्वीकृती दिन नसकिने हुँदा आईपीओ निष्कासनको स्वीकृति दिन असहज भएको बताइएको छ । अहिले आईपीओका लागि स्वीकृत मागेका अधिकांश हाइड्रोपावर कम्पनीको प्रतिसेयर नेटवर्थ ९० प्रतिशत भन्दा कम छ ।