तीनकुने घटना : शाही युवा शक्तिका उपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं । शाही युवा शक्ति नेपालका उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलबहादुर श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो ।
उनी शाही युवा शक्तिका दोस्रो वरीयताका व्यक्ति रहेको प्रहरीको भनाइ छ । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का भने यसअघि नै पक्राउ परेर हिरासतमा छन् । श्रेष्ठलाई १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
राजावादी प्रदर्शनमा अराजक जत्था भेला पार्ने काममा सक्रिय भएको आरोपमा उनी पक्राउ परेका हुन् । उनीसँगै प्रदर्शनसँग सम्बन्धित अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले बताए ।