भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राप्रपाकाे बल्खुमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा जनप्रदर्शन र सभा गरिरहेको छ । प्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ ।
हजारौको सङ्ख्यामा प्रदर्शनकारी बल्खुमा जम्मा भएका छन् । सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी केही हजारको सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।
राप्रपाले गर्ने आमसभाको सुरसार नहुँदै मङ्गलबार बिहानैदेखि सुरक्षा परिचालन गरिएको थियो । बल्खुको हालसम्म स्थिति सामान्य छ । पौने १ बजेपछि आमसभा सुरु भएको छ ।
राप्रपाले गर्ने आन्दोलनलाई जगमान गुरुङले अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । साथै दुर्गा प्रसाईंका कार्यकर्ता पनि सहभागी हुने सम्भावनालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राप्रपाले स्थान बल्खुमा सारेको हो ।