बागमती प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन

हेटाैँडा । नेपाल आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई वार्षिक प्रतिवेदन बुझाएको छ ।
४ वर्षमा सरकारले आदिवासी जनजातिको सवालमा गरेको काम समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख देवकोटालाई बुझाउनु भएको हो । गुरुङले प्रदेश प्रमुख समक्ष संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०।०८१ को पाँचौ वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो ।
वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रमुख देवकोटाले प्रतिवेदन अध्ययन गरेर बागमती प्रदेश सरकार मुख्यमन्त्री र प्रमुख सचिवलाई हस्तान्तरण गरिने प्रतिबद्धता जनाउनु भयो । आयोगका सदस्य गुरुङले आयोगको औचित्य र महत्वलाई बुझ्न आवश्यक रहेको बताउनु भयो। आयोगको सिफारिस तीनै तहका सरकारले कार्यान्वयन नगरिएको विषय पनि प्रतिवेदनको तालिकामा समेटिएको उहाँले बताउनुभयो । आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत् सरकारलाई गरेको सिफारिस कार्यान्वयनको अवस्था प्रभावकारी नभएको गुरुङले जानकारी दिनुभयो ।
नेपालमा जनजातिको संख्या ६० रहेकोमा बागमती प्रदेशमा मात्र ४७ आदिवासी जनजाति रहेका छन् । यस्तै ७८ प्रतिशत जनजाति साक्षर रहेका छन् । कार्यक्रममा आदिवासी जनजाति आयोगकी सदस्य रिना रानाको पनि उपस्थिति रहेको थियो ।