ठेलमठेल गर्दै काठमाण्डाैँ महानगरका प्रशासकीय गुरागाइँकाे महानगरपालिका प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय प्रवेश गरेका छन्। वडाध्यक्ष र कर्मचारीहरूले नगर प्रहरीलाई ठेलमठेल गरी उनलाई कार्यकक्षसम्म पुर्याएका हुन्।
काठमाडौं टावर निर्माण गर्ने नक्सा पासको विवाद बढेपछि महानगरपालिकाले गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो। गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईंलाई रोक्न नगर प्रहरी तैनाथ गरिएको थियो। हाजिर हुन जान लागेका प्रमुख प्रशासकीय अधिकृतको गाडीमा महानगर प्रहरीले ‘ह्वील लक’ गरिदिएको थियाे । तर, कर्मचारीहरूले उनलाई बीचमा राखेर नगर प्रहरीलाई ठेलमठेल गर्दै कार्यालय प्रवेश गराएका हुन्।
गुरागाईंलाई रोक्न खोजेपछि कर्मचारीहरू आक्रोशित भएका थिए। उनीहरूले तलब नपाएको भन्दै गुरागाईंलाई हाजिर गराउने अडान लिएका थिए।
मेयर बालेन शाहले संघीय सरकारलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै आएका थिए। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काममा लगाउन भनेको थियो।