प्रेस सेन्टरबाट ३५ पदाधिकारीको बिदाई, व्यवस्थापन गर्न रेखा शर्माको नेतृत्वमा कार्यदल

निरन्तर न्यूज
२० चैत्र २०८१, बिहीबार १०:३१

काठमाडौं । भर्खरै सम्पन्न प्रेस सेन्टर नेपालको पाचौँ महाधिवेशनबाट ३५ जना मात्रै पदाधिकारी बिदाई भएका छन् ।

चैत १६ र १७ मा काठमाडौंमा सम्पन्न पाचौँ महाधिवेशनबाट संशोधित बिधानको व्यवस्था अनुसार २९ सदस्यीय मात्रै पदाधिकारी चयन भएपछि यस अघि रहेको ६१ सदस्यीय पदाधिकारीमा रहेका ३५ जना पदाधिकारी बाहिरिएका छन् ।

अधिकांश पदाधिकारी सहजै बाहिरिएका छन् भने कतिपय पदाधिकारी निर्वाचन प्रक्रियामा सहभागि भएर पराजित भएपछि बाहिरिएका हुन् । बाहिरिनेमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सम्म रहेका छन् ।

जसमा ९ जना उपाध्यक्ष, महासचिव सन्तोष पौडेल, ७ जना उपमहासचिव, १७ जना सचिव र कोषाध्यक्ष डिल्ली मल्ल समेत बिदाई भएका छन् ।

बिदाई हुने उपाध्यक्षमा दीपेन्द्र रावल, अजयदिप शर्मा, गोविन्द देवकोटा, निर्मल ज्ञवाली, बिदुर खड्का, गंगा बराल, रुबी श्रेष्ठ, उपेश महर्जन, सुरेश यादव रहेका छन् भने उपमहासचिवमा दिपेन्द्र शर्मा, मनिषा श्रेष्ठ, यानेन्द्र जिसी, राजन केडी, राजेश चाम्लिङ, रामकृष्ण अधिकारी, हिरालाल चौधरी रहेका छन् ।

यस्तै बिदाई हुने सचिवमा अर्जुन बोहोरा, उन्नती चौधरी, प्रल्हाद पोखरेल, बोमलाल गिरी, माधव पनेरु, राजु बिक, बिमल लामिछाने, सुनिल खड्का, मेनका चौधरी, स्मिता निरौला, डिलबहादुर थोकर, प्रयास लिम्बु, शैलेन्द्र महतो, प्रेम सुनार, नवीन रिजाल, सुरजकुमार सिंह, निमेन्द्र शाही बिदाई भएका छन् ।

बिदाई भएकाको व्यवस्थापन गर्नका लागि ३ सदस्यीय कार्यदल गठन भएको छ । पार्टी अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी स्थायी समिति सदस्य एवम प्रतिनिधि सभा सदस्य रेखा शर्माको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन भएको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने क्रममा मंगलबार बिहान जानकारी गराएका हुन् ।

कार्यदलको सदस्यमा पार्टी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव एवम प्रेस सेन्टरका पूर्व अध्यक्ष गोविन्द आचार्य र सेन्टरकै निवर्तमान अध्यक्ष बिष्णु सापकोटा ‘जुगल’ रहेका छन् । कार्यदलले प्रतिवेदन तयार गरेर पार्टीलाई बुझाउने छ । त्यसकै आधारमा पार्टीले बिदाई भएका सेन्टरका पदाधिकारीको व्यवस्थापनको निर्णय गर्नेछ । नेपाल प्रेसबाट  ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु