बागमति प्रदेश सरकार निरंकुश भएकाे प्रतिपक्षकाे आराेप

निरन्तर न्यूज
२० चैत्र २०८१, बिहीबार ०८:४९

हेटाैँडा । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले प्रदेश सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय सरकारको निरंकुशता भएकाे आरोप लगाएका छन्।

बुधवार पत्रकार भेटघाट गर्दै नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले आफ्नो कमीकमजोरी र असफलता ढाकछोप गर्न सरकारले संसद छल्न अधिवेशन अन्त्य गरेकाे आरोप लगाएका हुन्। नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता कृष्ण शर्मा खनालले बागमती प्रदेश सरकारले गरेकाे संसद अधिवेशन अन्त्य गर्ने हर्कतले सरकार पूर्णतः असफल सावित भएको बताए ।

आफ्नो कमीकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद छल्ने कार्यले चाँडै हुने वर्षे अधिवेशनलाई समेत प्रभावित पार्नेछ’ उनले बताए ।‘बजेट अधिवेशनसमेत अनिश्चित दिशामा धकेलिने सम्भावना बढेको छ। दलहरुबीचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेटसमेत ल्याउने नैतिकता गुमाएकोले यस प्रकारको गैरजिम्मेवार हर्कत छोडेर वार्ता र सहमतिमार्फत अगाडि बढ्न हामी जोडदार माग गर्दछौं’ उनले भने ।

नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको साझा एजेन्डालाई गम्भिरतापूर्वक कार्यान्वयन गर्नुको सट्टा आलटाल गर्ने र अलमल्याउने नीति सरकारको देखिएको आरोप थियो।

उनले विगतका सहमति कार्यन्वयन गरी प्रदेशसभा संचालन गर्ने वातावरण बनाउन मंगलवार दिनभर वार्ता र संवादपश्चात बुधवार १ बजे बस्नेगरी सहमति हुँदाहुँदै बुधवार बिहान अधिवेशन अन्त्य गर्ने निर्णयले सरकार संसद छलेर गैरजिम्मेवार ढङ्गबाट प्रस्तुत भएको आरोप लगाए। दलहरूबीच छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्वता मात्र देखिएन ठूला दलहरु मिलेर बनेको सरकारको दम्भ, घमण्ड र निरंकुश शैलीसमेत उदाङ्गिएको छ’ उनले भने ।

मंगलबार प्रदेशसभा स‌ंचालनकाे लागि भएकाे सर्वदलीय बैठकमा सरकार निकै गैरजिम्मेवार ढङ्गबाट प्रस्तुत भएकाे राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले बताए । उक्त छलफलमा विपक्षी दलहरु लचिलो भइ वार्ता र छलफल भइरहँदा बुधवार विहानकाे मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्ने हठात् निर्णय गर्नुले कार्यपालिका र व्यवस्थापिकाबीचको दूरी बढाउने दिशामा सरकार उन्मुख देखिएको उनले आरोप लगाए । सरकारले यसैगरी पेलेर गइरहे वर्षे अधिवेशन समेत प्रभावित हुने विपक्षी दलहरुले चेतावनी दिएका छन्।

मंगलवार विहानदेखि बसेको प्रदेशसभाका ७ दलको बैठकसमेत निष्कर्षविहीन बनेको थियो। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको विगतको बजेटमाथिको सहमति र पछिल्लो समय भएको सहकारीमन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठकमा सहमति हुन सकेको थिएन।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मध्यराती १२ बजेबाट प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरेकाे थियाे । प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटाले बुधबारनै प्रदेशसभाको बैठक अन्त्य गरिएकाे लिखित जानकारी सभामुख भुवनकुमार पाठकलाई गराएका छन् ।

प्रदेश सभा सचिवालयले सभामुखकाे आदेशले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेश सभाकाे बैठक स्थगित गरिएको जानकारी गराएकाे छ ।

हिउँदे अधिवेशनमा के के भए ?

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन १८ माघबाट सुरु भएकाे थियाे । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत २३ माघमा २ वटा, २३ माघमा १ वटा र २६ माघमा २ वटा बैठकहरु संचालन भएकाे छ । सो पश्चात अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिनापछि मंगलबारकाे लागि बोलाइएकाेमा सभा चल्दै नचली स्थगित गरियो ।

२६ माघकाे प्रदेशसभा बैठकले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो । यसैगरी अन्य ४ विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो । प्रदेश सभा सचिवालयका अनुसार बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सभामा पेश गरिएकाे थियाे ।

यस्तै प्रदेश प्रमुखबाट फिर्ता आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि २६ माघकाे बैठकमा संशोधन सहित पेश गरिएकाे थियाे ।

मंगलबारकाे बैठकमा गत माघ मै संसदमा पेश भएका संसोधन विधेयकहरु पेश गरिने कार्यसुची रहेकाे थियाे । प्रदेशसभाका सभामुख पाठक दलहरु बीच विगतको बजेट माथिको सहमतिका विषयहरु समेट्ने सहमति बनेको र सोही अनुसार बैठक आह्वान गरिएको बताउँछन् ।

उक्त विधेयकका प्रतिवेदनहरुलाई छलफल गरेर पारित गर्नुपर्ने भएकाले केही दिन प्रदेशसभा चलाउने गरी विषेश समयको कार्यसूचि राखेर बैठक संचालन गरिने गरी बैठक आव्हान गरिएकाे पाठक बताउँछन् । सरकारपक्ष र प्रतिपक्षिय दल सहमतीमा नपुगेकाेले महत्वपूर्ण निर्णय गर्नु पर्ने प्रदेश सभा अनिश्चित भएकाे छ ।

११० सदस्यीय बागमती प्रदेशसभाका ७ दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुखसहित), राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु