समाजवाद किन, कस्तो र कसरी ?

डम्बर खतिवडा
२४ जेष्ठ २०७६, शुक्रबार ०९:०५

संविधानतः नेपाल ‘समाजवादउन्मुख’ राज्य हो । नेपालका अधिकांश राजनीतिक दल सिद्धान्तले ‘समाजवादी’ छन् । व्यवहारमा सिद्धान्त प्रतिबिम्बित छ छैन, त्यो अर्कै कुरा । शब्दमा भने सबै एक से एक समाजवादी । एउटा भनाई छ– ‘तपाई समाजवादी हुनुस् नहुनुस् तपाईको खुशी तर राजनीतिमा सफल हुन चाहनुहुन्छ भने कुनै न कुनै प्रकारले समाजवाद जप्न कहिल्यै नछोडनुस्, किनकी समाजवाद राजनीतिको बजारमा सबैभन्दा सजिलोगरी बिक्ने मालवस्तु हो ।’ एउटा कोणबाट हेर्दा आज नेपालको अवस्था यस्तै छ ।

नेपाली काङ्ग्रेस– प्रजातान्त्रिक समाजवादी । सत्तारुढ नेकपादेखि माले, मसाल, नेमकिपा, बैद्य र विद्रोही विप्लवसम्म मार्क्सवादी–लेनिनवादी–माओवादी समाजवादी । यहाँसम्म कि बिल्कुल नयाँ पुस्ताको राजनीतिक पहलकदमी विवेकशील नेपाली दलले ‘स्वतन्त्रता, समानता र भातृत्वको गतिशील सन्तुलनबाट मानवतावादको प्रवर्द्धन गर्ने’ धारणा राख्दछ । शब्दमा समाजवाद नभनिए पनि अर्थ र मर्मको दृष्टिकोणले यो ‘समाजवादी दर्शन’ नै हो ।

यतिधेरै समाजवादीहरुको बीचमा भर्खरै समाजवादलाई नै विचार, सिद्धान्त, दर्शन र मूल आदर्श बनाएर समाजवादी पार्टी, नेपाल निर्माण भएको छ । घोषित रुपमा आफूलाई समाजवादी नभन्ने दुईवटा मात्र दल देखिन्छन् नेपालमा– राप्रपा र साझा विवेकशील पार्टी । राप्रपाले सम्वर्द्धनवादलाई आफ्नो राजनीतिक दर्शन बनाएको छ । साझाले परोपकारी लोकतन्त्रमा आधारित पुँजीवादलाई ।

अर्को कोणबाट हेर्दा समाजवादप्रतिको यो मोह एक सकारात्मक परिघटना हो । अंग्रेजीमा एउटा भनाई छ– ‘एक्जिस्टेन्स कम्स बिफोर इसेन्स ।’ यसको सामान्य अर्थ भनेको विचारलाई वस्तुले निर्धारण गर्दछ । यसलाई राजनीतिमा भन्न सकिन्छ- कुनै पनि राजनीतिक अवधारणा यथार्थमा परिणत हुनु अघि सघन विमर्शमा हुनुपर्दछ । समाजवाद अधिकांश पार्टीहरुको एजेण्डा बन्दै जानु नेपाल निकट भविष्यमा समाजवादतिर प्रवृत हुने लक्षण पनि हो । जसरी हिजो गणतन्त्र, लोकतन्त्र, संघीयता विमर्शमा थिए, आज यथार्थमा परिणत भए, त्यसरी नै आज समाजवाद जुनस्तरको छलफलमा छ, त्यो भविष्यमा अवश्य व्यवहारमा परिणत हुनेछ ।

तर, कुन समाजवाद ? कस्तो समाजवाद ? किन समाजवाद ? कसरी समाजवाद ? आदि प्रश्न अझै अनुत्तरित छन । यी सबै दलहरुले भनेको समाजवाद एउटै हो कि फरक-फरक हुन ? एउटै हो भने एउटै उद्देश्यका लागि यतिका धेरै दल किन चाहियो ? फरक-फरक हुन भने समान शब्दाबलीले सृजना गर्ने भ्रम वा अन्यौलबाट कसरी मुक्ति पाउने ? के आधारमा मतदाताले यी दलका समाजवादी मान्यताको फरक छुट्याउने ? यी प्रश्नमा प्रवेश गर्नु अघि सम्भवत् राजनीतिक दर्शनहरुको सामान्य ज्ञान आवश्यक पर्दछ ।

राजनीतिक दर्शन मूलतः ११ प्रकारका देखिन्छन् । सम्बर्द्धनवाद, उदारवाद, साम्यवाद, समाजवाद, राष्ट्रवाद, फासीवाद, धार्मिक कट्टरतावाद, संघवाद, जैविकतावाद, अराजकतावाद र महिलावाद ।

सम्बर्द्धनवादको सारतत्व ‘समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रुढीवादी नैतिक मूल्यको संरक्षण’ हो । मूलतः यो थोमस हब्सको चिन्तनमा आधारित राजनीतिक दर्शन हो । बेलायतको टोरी यो विचारधाराको दृष्टिकोणबाट ऐतिहासिक दल हो । अमेरिकाका रिपब्लिकनहरु राजतन्त्र त मान्दैनन् अरु विषयमा कन्जरर्भेटिभ नै हुन्छन् । सम्बर्द्धनवाद कुनै क्रान्तिकारी विचारधारा हैन । क्रान्तिबाट डराएका कुलिनहरुको आत्मरक्षाको कवच हो । नेपालमा राप्रपा विशेषतः कमल थापा समूहले यो विचारधाराको प्रतिनिधित्व गर्दछ ।

फ्रि म्यान ( स्वतन्त्र व्यक्ति ) र फ्रि मार्केट ( स्वतन्त्र बजार) अर्थात् ‘स्वतन्त्रता’ उदारवादको सारतत्व हो । यो विचारधारा जोह्न लकको दर्शन र बेलायती गौरवमय क्रान्तिबाट अनुप्रेरित भएको हो । बेलायतको ह्वीग पार्टी जसको नाम फेरेर ‘लिवरल डेमोक्र्याट्स’ बनाइयो, यो विचारधाराको मुख्य ऐतिहासिक दल हो । हुनतः नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी नै भन्न रुचाउँछ तर, सन् १९९० यताका उसको सम्पूर्ण व्यवहारहरु उदारवादमा आधारित छन् ।

साम्यवादले ‘समानता’ लाई मुख्य तत्व मान्दछ । यो मार्क्सवादको लेनिनवादी धारा हो । निजी सम्पति, राज्य, वर्ग, बजार र अतिरिक्त मूल्य (मुनाफा) को अन्त्य नै मानवमुक्ति हो भन्ने सोच साम्यवाद हो । प्रारम्भमा यो समाजवादी विचारधारा भित्रकै एक हाँगो थियो । सन् १९१७ पछि जब लेनिनले आफ्नो पार्टीको नाम ‘रुसी सामाजिक जनवादी मजदुर पार्टी’ फेरेर ‘कम्युनिष्ट पार्टी’ बनाए, समाजवादी अन्तर्राष्ट्रिय परित्याग गरी, कम्युनिष्ट अन्तर्राष्ट्रिय ‘कोमिन्टर्न’ गठन गरे, लोकतन्त्रको साटो सर्वहारा राज्य र सोभियत प्रणालीका नाममा एकदलीय प्रणाली अबलम्बन गरे, साम्यवाद समाजवादी आन्दोलनबाट फरक भयो ।

नेपालमा नेकपाका सबै घटक वा समूह यही चिन्तनबाट जन्मिएका हुन् । तर, आज उनीहरु चरम वैचारिक संकटबीच छन् । एकातिर मार्क्सवाद, लेनिनवाद, स्टालिनवाद, माओवाद, टिटो, क्यास्त्रो र किम इल सुंगको विरासतबाट आफूलाई स्वतन्त्र र मुक्त घोषण गर्न पनि सक्दैनन् अर्कोतिर आफूलाई लोकतन्त्रवादी प्रमाणित गर्ने हज्जार मिथ्या प्रयास पनि गरिरहन्छन् । जसरी नेपाली कांग्रेस सैद्धान्तिक औपचारिकताले प्रजातान्त्रिक समाजवादी तर व्यवहारले उदारवादी दल हो, ठीक त्यस्तै नेकपाका घटकहरु औपचारिक सिद्धान्तले साम्यवादी तर व्यवहारले सामाजिक फासीवादी समूहहरु हुन् ।

(डम्बर खतिवडा)

राष्ट्रवादले ‘जन्म, जन्मस्थान वा भाषिक सांस्कृतिक मनोविज्ञानका कारण एकै प्रकारका भएका मानव समूहको आत्मगौरव’ लाई मुख्य तत्व मान्दछ । फ्रान्स, जर्मनी र इटलीको एकीकरण युद्धको समयमा यो विचारधारा जन्मिएको थियो । यो मूलतः हिगेलको दर्शनमा आधारित सोच हो । यसले विवेकपूर्ण कार्यका लागि जनसहमतिको आवश्यकता नहुने मान्यता राख्दछ । नेपालमा राष्ट्रवादलाई मात्र मुख्य दर्शन बनाएको कुनै दल छैनन् । दलहरुले आफ्नो राजनीतिक सिद्धान्तमा यो ‘कम्पोनेन्ट’ लाई आ-आफ्नो तरिकाले समावेश गरेको छन् ।

फासीवाद राष्ट्रवादी चिन्तनको अतिवादी धार हो । मूलतः यो नित्सेको दर्शनमा आधारित छ । फासीवादले ‘विवेकपूर्ण शासन र राज्यको सर्वोपरिता’ मा विश्वास गर्दछ । ‘श्रेष्ठ जातिसंग श्रेष्ठ ज्ञान र विवेक हुन्छ, श्रेष्ठ विवेकले श्रेष्ठ राज्य, श्रेष्ठ साम्राज्य र श्रेष्ठ सभ्यता निर्माण गर्छ’ भन्ने सोच नै मूलतः फासीवाद हो । विनिटो मुसोलिनीको फासिष्ट पार्टी र हिटलरको नाजी पार्टी यस विचारधाराका मुख्य दल हुन् । नेपालमा फासीवादलाई औपचारिक दर्शन बनाएको कुनै पार्टी नभए पनि बेलाबेला ‘एक्स्ट्रिम’ राष्ट्रवादीहरु देखिने गरेका छन्, त्यसको स्रोत फासीवाद नै हो । साझापाेष्टबाट

( खतिवडा समाजवादी पार्टी नेपालका उपमहासचिव हुन् )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*