कुलमानले ‘स्वीच अन’ गरेसँगै मकवानपुरको चेपाङ बाहुल्य बस्ती खैराङ झलमल्ल

निरन्तर न्यूज
११ चैत्र २०८१, मंगलवार १०:०१

हेटौंडा । मकवानपुरको चेपाङ बाहुल्य विकट गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत झलमल्ल भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबीच राक्सिराङ गाउँपालिका ९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्वीच अन’ गरेर खैराङका बस्तीलाई झलमल्ल बनाए । उनले राक्सिराङ ९ खैराङकी फूलमाया चेपाङको घरको विद्युत्‌को मिटर पनि ‘अन’ गरेका थिए ।

मकवानपुरकै दुर्गम खैराङमा २०७६र०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतसाधनले धिमा गतिमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो । जब प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उक्त अभियानलाई साथ दिए, तब खैराङलगायत राक्सिराङ गाउँपालिकाका सबै वडामा विद्युत्‌को पहुँच पुग्यो । ‘कुलमान घिसिङको साथ पाएकाले सिंगो राक्सिराङ झलमल्ल हुन सम्भव भएको हो,ु गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३०३ वटा विद्युत्‌ मिटर उक्त वडाका विपन्न चेपाङलाई निस्शुल्क वितरण गरेका थिए । टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा सोमबारदेखि बिजुली बल्न थालेको छ । २०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । ती सबै घरमा विद्युत् पहुँच पुगेको छ ।

दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्‍याउने घिसिङलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ । कार्यकारी निर्देशक घिसिङले दुर्गम गाउँका चेपाङको छाप्रोरछाप्रोमा विद्युत् पुर्‍याउन पाउँदा आफुलाई खुसी लागेको बताए । पालिकाले सम्झेर आफूलाई खैराङमा ल्याएर सम्मान गरेकामा खुसी व्यक्त गर्दै उनले भने, ‘यो सम्मानले ऊर्जा दिएको छ । इकान्तिपुरबाट ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु