नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

निरन्तर न्यूज
३० फाल्गुन २०८१, शुक्रबार ११:४५

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको गए राति गुवाहाटीमा निधन भएको हो ।

भारतको असममा १९८९ सालमा जन्मिएका उनको ’बसाइँ’ चर्चित उपन्यास हो । ’ब्रह्मपुत्रको छेउछाउ’ उनको अर्को प्रख्यात कृति होउनका ’अतृप्त’, ’प्रतिध्वनिहरु विस्मृतिको’, ’असममा नेपाली भाषाको साह्रोगाह्रो’, ’तीन दशक बीस अभिव्यक्ति’ लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।

क्षेत्रीको ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको थियो । यो उपन्यासको कथामा फिल्म पनि बनिसकेको छ । ‘बसाइँ’ माइकल हट र लारी हार्टसेलले अंग्रेजीमा अनुवाद गरेका छन् भने ‘ब्रम्हपूत्रकाे छेउछाउ’ उपन्यास असमी, हिन्दी र बंगालीमा अनुदित छन् ।

उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो । ’ब्रह्मपुत्रको छेउछाउ’ बाट उनले सन् १९८६ मा साहित्य अकादमी पुरस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु