पुनर्स्थापनामा कुटपिटबाट मृत्यु प्रकरण : एक जना धरौटीमा रिहा, ६ जना पुर्पक्षका लागि कारागार चलान

बारा । बाराको कलैयामा रहेको नवजन्म पुनर्स्थापना केन्द्र (सुधार गृह) मा कुटपिटबाट मृत्यु भएका धीरेन्द्र भनिने प्रदीप्रसाद मण्डलको मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये एक जना धरौटीमा रिहा भएका छन् भने अन्य ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बारा जिल्ला अदालत बाराको १ नम्बर इजलासका न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार मण्डलको मृत्यु प्रकरणमा पक्राउ परेका ७ जनामध्ये सञ्चालकका दाइ तमन्ना मंसुरलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएका छन् । अन्य ६ जनालाई भने पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ।
बुधबार भएको बहसमा पुनःस्थापना केन्द्रका सञ्चालकका दाइ तमन्ना मंसुरमाथि प्रमाण लुकाएको छुट्टै कसुरअन्तर्गत ३ वर्षसम्म कैद सजायको माग दाबी भएकाले उनलाई धरौटीमा रिहा गरिएको बारा जिल्ला अदालतका स्रेस्तेदार लालबहादुर कार्कीले जानकारी दिए ।
सोही घटनामा पक्राउ परेका कलैया उपमहानगरपालिका १ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा २ का २१ वर्षीय परमेश्वर साह, वडा ३ का १९ वर्षीय सरफराज मंसुरी, वडा ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं. ६ का २० वर्षीय महम्मद आँसु मियाँलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ ।
घटनाका मुख्य आरोपी सुधार केन्द्रका सञ्चालक साहेबबाबु मंसुर र उनका भाई साहिल अली भने हालसम्म फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ । मृतक मण्डल कलैया–9 का ३७ वर्षीय थिए । उनी सुधार केन्द्रमा भर्ना भएको दुई साता नबित्दै शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितका व्यक्तिहरूले कुटपिट गरेका थिए, जसका कारण उनको मृत्यु भएको बताइएको छ ।