आज तराई-मधेशमा होली मनाइँदै

काठमाडौँ । रङहरूको पर्व फागु पूर्णिमा आज तराई मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा फागु पूर्णिमा मनाउने परम्परा छ । यहाँ फागु पूर्णिमालाई होली पनि भनिन्छ ।
तराई मधेशमा फागु पूर्णिमा पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ । ‘बुरा नमानो होली हैं जोगिरा सररर।।।’ जस्ता सुमधुर होलीका गीतहरु अहिले मधेशका विभिन्न स्थानहरुमा गुन्जिरहेको छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो ।