माओवादी केन्द्रकाे तराई मधेस जागरण अभियान स्थगित

निरन्तर न्यूज
२५ फाल्गुन २०८१, आईतवार १३:२५

काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई मधेस जागरण अभियान स्थगित गरेको छ ।

राजनीतिक घटनाक्रममा नयाँ परिस्थिति सिर्जना भएको र त्यसबारे गणतन्त्रवादी दलहरूसँग सघन छलफल गरेर अघि बढ्नुपर्ने र संसद्‌मा समेत उपस्थिति बलियो बनाउनुपर्ने देखिएकाले कार्यक्रम तत्काललाई स्थगित गरिएको महासचिव देव गुरूङले नेपालभ्युजलाई बताए ।

“राजावादीहरूले व्यवस्थामा प्रहार गर्ने ढङ्गबाट गतिविधि बढाएको अवस्थामा छ । नयाँ राजनीतिक घटनाक्रम सिर्जना भएपछि गणतन्त्रवादी दलहरूसँग सघन छलफल जरूरी रहेकाले अहिलेलाई कार्यक्रम स्थगित गरी अन्य दलहरूसँग सघन छलफलका लागि फर्किन लागेका हौं,” गुरूङले भने ।

सङ्घीय लोकतान्त्रिक प्रणालीमाथि प्रहारका प्रयासको सशक्त प्रतिवादका लागि माओवादीले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको गुरूङले बताए ।

अभियानका लागि अर्को तालिका छिट्टै सार्वजनिक गरिने उनले उल्लेख गरे । फागुन १२ गतेबाट झापाबाट सुरु भएको अभियान रौतहटमा आएर स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु