राजसंस्था पक्षधरहरू तीनकुने र गौशालामा जम्मा भएर विमानस्थल जाने

निरन्तर न्यूज
२५ फाल्गुन २०८१, आईतवार १३:०३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजसंस्था पक्षधरहरू तीनकुने र गौशालामा जम्मा भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने भएका छन् ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, काठमाडौं महानगरपालिका, कागेश्वरी–मनोहरा, कीर्तिपुर, चन्दागिरि, दक्षिणकाली र नागार्जुनबाट आउने तीनकुनेमा भेला हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

यस्तै टोखा ,गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नुवाकोट र धादिङबाट आउनेहरू गौशालामा जम्मा हुने उनले बताए ।

यसअघि विभिन्न सञ्चारमाध्यममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जुलुसमा सहभागी नहुने समाचार आएको थियो । प्रवक्ता शाहीले भने अध्यक्ष लिङ्देन पनि सहभागी हुने नेपालभ्युजलाई जानकारी दिए ।

राप्रपाले आज (आइतबार) राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्रि प्रदर्शन गर्न लागेको हो ।

राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । जुलुसमा कमल थापा नेतृत्वको राप्रपा नेपाल दुर्गा प्रसाईं, केशरबहादुर विष्टलगायत पनि सहभागी हुनेछन् ।

थापा र विष्टले छुट्टै जुलुस निकाल्ने बताइएको छ । पछिल्लो समय प्रसाईं भने राप्रपासँगै देखिँदै आएका छन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आज दिउँसो १ बजे पूर्वराजालाई स्वागत गर्न विमानस्थल आउन सबैलाई अनुरोध गरेका छन् ।

यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर

राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।

यसले ठूला दलहरूमा तरङ्ग पैदा गरेका छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउने षड्यन्त्रमा नलाग्न पूर्व राजा र राजावादीलाई चेतावनी दिएका छन् । फागुन २२ मा महोत्तरीबाट उनले भने, ‘उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई त्यो तन्त्र कताबाट उधिनेर ल्याउने हो ?’

यस्तै गत बिहीबार महोत्तरीमै आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजतन्त्रको स्थान नभएको बताएका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रले तराई-मधेस जागरण अभियान स्थगित गरेको छ ।

राजनीतिक घटनाक्रममा नयाँ परिस्थिति सिर्जना भएको र त्यसबारे गणतन्त्रवादी दलहरूसँग सघन छलफल गरेर अघि बढ्नुपर्ने र संसद्मा समेत उपस्थिति बलियो बनाउनुपर्ने देखिएकाले कार्यक्रम तत्काललाई स्थगित गरिएको महासचिव देव गुरुङले नेपालभ्युजलाई बताए ।

यस्तै सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका नेताहरूले पनि राजसंस्थावादीको प्रदर्शनलाई लिएर विभिन्न टिप्पणी गरिरहेका छन् ।

यसैगरी शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेटेका थिए । यसलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न ठाउँका मन्दिरको भ्रमण गरेका थिए । साथै उनले पोखराका बनेको स्वर्गीय राजा वीरेन्द्रको शालिकसमेत अनावरण गरेका थिए । त्यहाको भ्रमण सकेर उनी काठमाडौं फर्किन लागेका हुन् ।

राप्रपाको कार्यक्रमलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउने नेपाल प्रहरीले जनाएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । राप्रपाले भने लाखौं मानिस उतार्ने लक्ष्य राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु