पत्रकार महासंघ बागमतीको बैठक सम्पन्न, १० बुँदे घोषणा पत्र जारी

निरन्तर न्यूज
२१ फाल्गुन २०८१, बुधबार ११:५१

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठकले महासंघको आगामी तीन वर्षका कार्ययोजनासहित १० बुँदे हेटौंडा घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेण्टी गर्न र स्वरोजगारमूलक सञ्चारमाध्यम प्रवद्र्धन गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरिएको छ। साथै, सामाजिक सञ्जाल तथा मिडिया काउन्सिल विधेयकका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन महासंघको केन्द्रीय समितिलाई दबाब दिन माग गरिएको छ।

महासंघका अध्यक्ष कृष्ण सारु मगरका अनुसार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोगमा कानूनी प्रावधान र आचारसंहिताको पालना गराउँदै सम्पादकीय स्वतन्त्रताको रक्षा गर्न बहसको अभियान सञ्चालन गरिनेछ। उपाध्यक्ष हरि हुमागाईंले पत्रकार कल्याण कोष स्थापना, सञ्चारमाध्यम वर्गीकरण, तथा पारिश्रमिक उपलब्ध गराउन आवश्यक पहल गरिने बताए।

सचिव श्याम प्रसाद खतिवडाका अनुसार, स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममै प्रकाशन गर्नुपर्ने नीति ल्याउन सरकारसँग माग गरिएको छ। बैठकले सञ्चार उद्योगलाई उद्योगको मान्यता दिन समेत प्रदेश सरकार समक्ष माग गरेको छ । बैठक फागुन १९ देखि २० गते सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु