मकवानपुरमा मंगलबार माझी समुदायले लदि पर्व मनाउने

हेटौंडा । नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले फागुन २० गते परेको लदि (कोसी) पूजा विशेष कार्यक्रमका साथ मनाउने भएकाे छ ।
बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाकाे उपस्थितिमा मकवानपुरकाे बकैया गाउँपालिका ६ जुईनामा विशेष कार्यक्रम गरि मनाइने संघले जनाएकाे छ । फागुन महिनाकाे साहिलि मंगलबार याे पर्व मनाउने गरिन्छ ।
नेपाल सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजाति मध्ये माझी जाति पनि एक हो । विशेष गरी सप्तकोसी नदिका छेउछाउ, भित्री मधेस र तराई क्षेत्रमा यो जातिको बढी बसोबास रहेको छ । तराईका सहनी, थारु, मुसहर भित्री मधेसमा बोटे नेपालका खस क्षेत्रीहरू र रायमाझीहरूले समेत माझी लेख्ने भएकोले वास्तविक माझीहरूको पहिचान सङ्कटमा परेको अगुवा रामशरण माझि बताउँछन्।
तराईका पानी अचल जाति मुसहरले समेत माझी लेख्ने भएकोले तराईमा बसोबास गर्ने माझीहरूले कुश्वार लेख्ने गरेको पाइन्छ । त्यस कारण माझीको पहिचानमा अझ सङ्कट थपिएकाे संघका महासचिव बबिन्द्र लाल माझीले बताए ।
सरकारले आदिवासी जनजातिको वर्गीकरणमा अति सीमान्तकृत जातिकोरुपमा वर्गीकरण गरेको यो जातिको जनसङ्ख्या २०७८ सालको जनगणनालाई आधार मान्ने हो भने १ लाख ११ हजार ३५२ रहेको छ । तथापि यो सङ्ख्या भन्दा बढी रहेको माझी बुद्धिजीवी तथा जानकारहरू बताउँछन् । यो जातिले बोल्ने छुट्टै भाषा छ । जसलाई माझी भाषा भनिन्छ । यो भाषा भारोपेली भाषा परिवार अन्तर्गत गर्दछ । सुनकोसी, तामाकोसी, दुधकोशी क्षेत्रहरूमा यो भाषा बढी मात्रामा बोलिन्छ भने अन्य ठाउँमा छिटपुट मात्रामा बोलिन्छ तथापि कुनै ठाउँमा यो भाषा बोल्ने मानिस पाउन कठिन छ । यसरी नै यो भाषाको लोप हुँदै जाने हो भने एक दिन यो भाषा पुर्णरुपमा लोप हुनेछ । ठाउँ विशेष यो भाषाको शब्द उच्चारणमा केही फरक रहेको पाइन्छ । नेपाल सरकारले २०७८ सालमा गरेको जनगणनामा यो भाषा बोल्नेको सङ्ख्या ३२ हजार ९१७ रहेको तथ्याङ्क रहेको छ ।
लदि (कोसी) पूजाः
माझीहरूले हिन्दुहरूको चाडपर्व दसैँ, तिहारलगायत अन्य चाडपर्व मनाउने गर्दछन् । तथापि ऐतिहासिक महत्वको हिसाबले अरू सबै चाड मध्ये लदि (कोसी) पूजा माझीहरुकाे प्रमुख चाड हो । यो चाड विशेष किसिमले पानीको स्थानीय रूपमा जहाँ जुन खोला नदी छ त्यसलाई पूजा गरेर चाडको रूपमा मनाउने गर्दछन् । माझीहरूको साझा संस्था नेपाल माझी उत्थान सङ्घको २०६५ साल माघ २८ गतेको केन्द्रीय समितिको बैठकले यसलाई राष्ट्रिय चाडको रूपमा घोषणा गरेको छ । ठाउँ विशेष रूपमा यो चाड वैशाख, असार, माघ र फाल्गुणमा मनाइने भएता पनि हाल नेपाल माझी उत्थान सङ्घकै पहलमा देश भरिनै फागुन महिनाको साइँली तेस्रो मंगलबार मनाउने गरिएको छ । त्यस भन्दा पहिले धेरै जसोले फागुन महिना र ठाउँ अनुसार फरक फरक मितिमा मनाइने गरेको संघकी अध्यक्ष चिनिमाया माझीले बताइन् ।
यो साल लदि(कोसी) पुजा २०८१ साल फागुन २० गते परेको छ । सो अवसरमा देशै भरीका माझी समुदायले नजिकका नदि खोलामा गएर भब्य रुपले नदि खोलाको पुजा गर्ने गर्दछन । त्यो दिन माझीहरुको बस्ती भएका स्थानीय तहले समेत सार्वजनिक विदा दिने गरेका छन् । बागमती प्रदेश सरकारले यस वर्षपनि माझी समुदायहरुलाई मंगलबार सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।