कैलाश गाउँपालिकाकाे लगानीमा जीपलाइन निर्माण

निरन्तर न्यूज
१९ फाल्गुन २०८१, सोमबार ०८:१९

हेटाैँडा । मकवानपुरको कैलाशगाउँपालिका वडा नम्बर २ बैकुण्ठमा जीपलाइनको पहिलो चरणको परीक्षण भएको छ ।

नवनिर्मित कैलाश—बैकुण्ठ  जीपलाइनका प्राविधिक टोली सहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उक्त वडाका अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशीलगायतको टोलीले जीपलाइनको पहिलो चरणको परीक्षण गर्नुभएको हो । सञ्चालनको अन्तिम तयारीमा रहेको जीपलाइन कैलाश गाउँपालिकाको आफ्नो बजेटबाट निर्माण गरिएको हो । मुलतः यो स्थानीयतहकै लगानीमा बनेको हाे ।

स्थानीय सरकार सञ्चालन ऐनको एकल अधिकार भित्र नपरेको अवस्थामा गाउँपालिका राष्ट्रिय महासंघ कार्य सम्पादन समितिका सदस्य समेत रहनुभएका कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानले पर्यटन पर्यावरणको प्रवद्र्धनमा यस प्रकारका विकास स्थानीयतहको एकलअधिकार भित्र हुनुपर्छ भनी प्रस्ताव राख्नु भएको थियो । उक्त प्रस्ताव अनुरुप संघीय सरकार पनि सकरात्मक भएपछि जीपलाइनको निर्माण कार्य सुरु गरिएको मुक्तानले बताउनुभयो । कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जीपलाइन निर्माण गरिएको मुक्तानले बताउनुभयो ।

कैलाश गाउँपालिका पनि पर्यटन, पर्यावरणको विकासमा अघि बढिरहेकाे बताउँदै मुक्तानले जीपलाइन सञ्चालन पछि धादिङ जिल्लाको रोराङ, बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहा नगरपालिका, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीको गन्तव्य स्थल रहने उहाँले बताउनुभयो । धादिङसँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको उहाँले बताउनुभयो । बैकुण्ठमा जीपलाइन सँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् ।

उक्त स्थानमा जीपलाइनका लागि फोरजी कम्पनीले आव २०७९/८० मा एक करोड ९० लाख ९७ हजार खर्च लाग्ने सर्वेक्षण गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र दत्तभट्टले बताउनुभयो । पालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम(हारनेस) र तार निर्माण गरिएको भट्टले बताउनुभयो ।

२०८० माघमा बाेलपत्र प्रकाशित भएसँगै सन्ध्या निर्माण सेवा सँग ८८ लाख ५६ हजार ७ सात ६१ रुपैयाँमा २०८१ फागुन मसान्त सम्ममा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको भट्टले बताउनुभयो । जीपलाइनको अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको तथा बाँकीँ अहिले सम्झौता अनुरुप सम्पन्न गरी जीपलाइन सञ्चालनको अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । पहिलो चरणमा ब्रेकिङ सिस्टम(सोलोप) सम्बन्धी कार्यको परीक्षण भयो । साथै दोस्रो चरणको परीक्षण पछि सफल परीक्षण गरिने उहाँले बताउनुभयो । परीक्षण जीपलाइन प्राविधिक एंव प्रशिक्षक बद्री घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु