हेटौँडामा भीम विराग प्रतिष्ठानबाट ११ सर्जक सम्मानित, काे हुन भीम बिराग ?

हेटौँडा | भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले शनिबार नेपाली साहित्य, संगीत, कला, पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका ११ जनालाई एक कार्यक्रमका बीच सम्मान गरेकाे छ ।
यस वर्षको २५ हजार रुपैयाँ राशीको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाण्डाैँकी साहित्यकार माया ठकुरी प्रदान गरिएको छ । राष्ट्रिय संगीत पुरस्कार गायक हेमन्त शर्मालाई प्रदान गरिएकाे छ भने राष्ट्रिय कला पुरस्कार हेटाैँडाका कलाकार भोलाराज सापकोटालाई प्रदान गरिएको छ । भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ठाकुर बेल्वासेलाई दिइएकाे छ ।
त्यसैगरि तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार महिला उद्यमी शोभा श्रेष्ठलाई १५ हजार राशीको पुरस्कार सहित महिला सशक्तीकरणमा पुर्याएको योगदानका लागि प्रदान गरिएको छ। त्यस्तै, भीम–मथुरा बाल प्रतिभा पुरस्कार विद्यार्थी रितिका छत्कुलीले प्राप्त गरेकी छिन् ।
समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्य पुरस्कार २०८१ अन्तर्गत समाजसेवी र साहित्यिक योगदान पुर्याउने व्यक्तिहरूलाई १५ हजार राशीको पुरस्कार दिइएको छ। शिला नारी पुरस्कार २०८१ अन्तर्गत मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठलाई १५ हजार राशीको पुरस्कार प्रदान गरिएको छ। रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार २०८१ अन्तर्गत पर्वतका कुलेन्द्र विश्वकर्मालाई २० हजार राशीको पुरस्कार सहित सम्मानित भएका छन् ।
चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार २०८१ अन्तर्गत दीपक गौतमलाई १५ हजार राशीको पुरस्कार प्रदान गरिएको छ भने मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०८१ अन्तर्गत निर्मला ब्लोनलाई १० हजार राशीको पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, सुदर्शन ढकाल १० हजार राशीको अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।
साहित्य-संस्कृतिको संरक्षण अनिवार्य: नगर प्रमुख लामा
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन नगरी समग्र विकास सम्भव नभएको बताइन्। केवल भौतिक संरचना निर्माण मात्र नभइ समुदायको सांस्कृतिक तथा साहित्यिक पहिचानलाई जोगाउनु पनि विकास भएकाे बताइन् । हेटौँडा-४ का वडा अध्यक्ष नवीन सिग्देलले साहित्य र संस्कृतिले मात्र समाजलाई सही दिशा दिन सक्ने बताए । हरेक वर्ष, विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानित गर्दै आइरहेको यो प्रतिष्ठानले नेपाली समाजमा सृजनशीलताको सम्मान अभिवृद्धि गरिरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले बताए । कार्यक्रममा सम्मानित गायकहरु हेमन्त शर्मा र लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेर सहभागीहरुलाई भरपूर मनोरञ्जन दिए ।
२०५९ सालमा स्थापित भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली साहित्य, संगीत र कलाको प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ।
काे हुन भिम बिराग ?
फूलै–फूल मात्र पनि हैन रै’छ जीवन, काँडा बीच फुल्ने फूल रै’छ जीवन नेपाली सङ्गीत क्षेत्रमा यस्ता सदावहार गीतबाट छाएका वास्तविक नाम भीमबहादुर महर्जन रहेका भीम विरागको जन्म वि.सं.१९९१, माघ १५ गते, माईस्थान, वीरगन्जमा भएको हो । विरागको २०६८ साल फागुन १५ गते सोमबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा ७७ वर्षकाे उमेरमा निधन भएको हाे । हेटौंडा बस्दै आएका बरिष्ठ साहित्यकार विराग लामो समयदेखि श्वास प्रस्वासको बिरामी थिए ।
पत्रकारितासमेत गरेका विरागले साहित्यमा उच्च स्थान हाँसिल गरेका थिए । उनले नारायणी साप्ताहिक र बिगुल साप्ताहिकको सम्पादन गरेका थिए । विभिन्न पत्र-पत्रिकाहरुमा फुटकर कविता, लेख, निबन्ध, कथा प्रकाशित छन् । उनको दुखेको इन्द्रेनी गीत संग्रह (२०२०), अतृप्त स्पर्श गीत स्रग्रह (२०४३), तातो सुस्केरा कविता संग्रह (२०३२) र आठटुक्रे बादल कथा संग्रह (२०३५) प्रकाशित छन् । उनले २०२३ मा नारायणी अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम, वि.सं.२०२६ मा गोरखा दक्षिण बाहु चौथो प्राप्त, वि.सं. २०४३ मा छिन्नलता गीति पुरस्कार प्राप्त गरेका थिए ।
गीतकार तथा सङ्गीतकार विराग जीवनका भोगाइ र अनुभूतिहरूलाई गीतमा उतार्न सक्ने सर्जक थिए । विरागले जीवनमा मनग्ये दुःख र तिरस्कार भोगे । १२ वर्षको उमेरमा कुप्रोपनको सिकार बनेका उनले प्रेममा पटक–पटक तिरस्कृत हुनुपर्यो । २२÷२४ को उमेरमा दुई हात घुँडामा राखेर हिँड्नु पर्दा उनी बढीमा दया र सहानुभूतिका पात्र मात्र बने । त्यस कालको अनुभूतिहरूबाट सिर्जित उनका केही गीत नारायणगोपाललाई नेपाली गायनको उच्चतम बिन्दुमा पुर्याउने सिर्जना रुपमा पर्दछन् ।
जस्तो कि, तिमीले पनि म जस्तै…, कसरी म भुले…, आज–भोलि हरेक साँझ्… आदि ।
पर्सा जिल्लाकाे वीरगञ्जमा जन्मेहुर्केका विरागको जीवन मकवानपुरकाे हेटौंडामा बित्यो । आफ्नै प्रयासबाट साहित्य र सङ्गीत सिकेका उनले २०१८ सालमा रेडियो नेपालमा सम्झ्नाको बाली दियो… गाएका थिए । उनले खण्डकाव्य र महाकाव्य समेत प्रकाशित गरेका छन् ।
वि सं. २०५९ सालमा हेटौंडामा स्थापित भीम विराग सङ्गीत, साहित्य तथा कला प्रतिष्ठानले साहित्य, संगीत र संस्कृतिको उज्यालो विरासत भीम बिरागलाई बचाइराख्न हरेक वर्ष, विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानित गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ ताैजलेलर् बताए । यो प्रतिष्ठानले नेपाली समाजमा सृजनशीलताको सम्मान अभिवृद्धि गरिरहाुका साथै नेपाली साहित्य, संगीत, कला र पत्रकारितालाई उच्च स्थान दिलाउन तथा नयाँ पुस्तालाई प्रेरित गर्न हरेक वर्ष सम्मान कार्यक्रम गर्ने गरेकाे प्रतिष्ठानका महासचिव छवि अनित्य बताउँछन् ।
भीम बिरागका सिर्जनाहरु
- मौलिक कृति
अज्ञात प्रारम्भ
दुखेको इन्द्रेनी
अतृप्त स्पर्श
तातो सुस्केरा
आठटुक्रे बादल - कविता
आफूलाई खोज्दा हराएकाहरू
धरहरा
परिक्रमा
जिन्दगी
मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ
शङ्कालु आँखाहरू - गीत
आज भोलि हरेक साँझ मात्तिन थालेछ
कसरी म भुलें केमा म भुलें
जुनीभरिलाई पीर संगालेर अब टाढा टाढा हुँदैछु
तिमीले पनि म जस्तै
नबोलाऊ कसैलाई यहाँ राति राति
फूलै फूल मात्र पनि हैन रैछ जीवन - गजल
आस अझै बाँकी छ
मन्दिरहरूलाई पनि भत्किरहेको देखेँ
मागेर पाइन्न माया खोसेर पाइँदैन
जब मोडिन्छ जिन्दगी