युक्रेनी राष्ट्रपतिलाई ट्रम्पले गरेको व्यवहारप्रति सिङ्गो युरोप असन्तुष्ट

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई अमेरिकाले गरेको व्यवहारबाट युरोप असन्तुष्ट बनेको छ।जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच झण्डै १० मिनेट कडा बहस चलेसँगै अमेरिकाले जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाएका थियो ।
त्यसपछि जेलेन्स्कीले विवाद मिलाउन सकिने बताए पनि ट्रम्पले फर्कने सन्देश पठाउँदै दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिदिए । यो भेटलाई युक्रेनी खनिजमा अमेरिकाको पहुँच र रुस–युक्रेन युद्ध रोक्ने शुरुआतका रूपमा हेरिएको भए पनि परिणाम उल्टो भएको हो । ट्रम्प र जेलेन्स्कीबीच वार्तापछि विश्वभरबाट प्रतिक्रिया आउन शुरु भएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनले युक्रेनलाई समर्थन गर्दै समाजिक सञ्जाल एक्समा लेखेर निडर बन्न भनेका छन् । युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले युक्रेन युरोपको रहेको र आफूहरु युक्रेनको पक्षमा रहेको उल्लेख गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले युक्रेनमाथि आफ्नो समर्थन जारी राख्ने बताएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनलाई जर्मनी र युरोपको साथ रहने बताए ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि युक्रेनको साथमा रहेको बताएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले ट्रम्प र जेलेन्स्कीसँग कुरा गर्दै युक्रेनलाई समर्थन जारी रहेको बताएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले पनि विज्ञप्ति निकालेर युक्रेनको समर्थन गरेका छन् । अमेरिकामै पनि सांसदहरुले जेलेन्स्कीमाथिको व्यवहारको विरोध गरेका छन् ।