हेटौंडा ४ ले पहिलो पटक नगर स्तरीय नाटक प्रतियोगिता गर्ने

निरन्तर न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार २१:१९

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं -४ ले पहिलो पटक नगर स्तरीय नाटक प्रतियोगिता गर्ने भएको छ । सामाजिक रुपान्तरण तथा विकासका लागि नाटक भन्ने नाराका साथ हेटौंडा- ४ ले पहिलो पटक नगर स्तरीय नाटक प्रतियोगिताको आयोजना आयोजना गर्न लागेको हो ।

झलझली मल्टीक्रियसनको व्यवस्थापनमा आगामी फागुन १८ गतेदेखि २३ गतेसम्म ६ दिन प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गर्दै वडा कार्यालयले जानकारी दिएको छ ।

वडामा रहेका मध्य ६ वटा विद्यालयमा नाटक प्रदर्शनी गरिने ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । समाजमा रहेका विसंगति, विकृति, कुरीति, अन्धविश्वास, लागूऔषध दुव्र्यसनी, वालविवाह हटाउन सचेतनामूलक कार्यक्रम अन्तर्गत नगरमै पहिलो पटक विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष सिग्देलले बताए ।

प्रतियोगितामा ६ वटा सामुदायिक विद्यालय, ५ वटा संस्थागत विद्यालय र एउटा बाल सञ्जाल गरि १२ वटा समूहबिच प्रतिष्पर्धा हुने बताइएको छ । प्रदर्शित नाटकहरु मध्ये पहिलो, दोश्रो, तेश्रो हुने समूहलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने झलझलि मल्टीक्रियसनका आशाकाजी श्रेष्ठले जानकारी दिए ।

निर्णायक मण्डलमा सिस्नुपानी नेपाल मकवानपुरका प्रतिनिधी, नाट्यकर्मी रिता लामा र सोम लामा रहेका छन् । पुरस्कार वितरण समारोह फागुन २३ गते भूटनदेवी माध्यामिक विद्यालयमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु