आज शिवरात्रीमा पशुपतिनाथमा भक्तजनको घुइँचो {तस्वीरहरु}

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ ।
अहिले भक्तजनको लाम धेरै लामो भएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको उनले बताए । महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि चार सयवटा रसिद काटिएको छ । दुई सयवटा रसिदको पूजा बिहानै सम्पन्न भएको प्रवक्ता अधिकारीले बताए । बाँकी दुई सयवटा रसिदको भने बेलुकी पूजा गरिने जनाइएको छ ।
महाशिवरात्रिका अवसरमा आज विशेष पूजाका लागि रु १५ हजार एक सय, रु ३५ हजार र रु ६५ हजारको रसिद काटिएको पनि कोषले जनाएको छ । घामले तातिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजन पनि बढ्न थालेका छन् ।