दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक सबैभन्दा धेरै
चितवन । चितवनमा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ ।
साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका एक सय २९ मध्ये ६५ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, चालू आर्थिक वर्षमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ५३ जना स्वयम् मोटरसाइकलमा रहेका थिए । मोटरसाइकलले ठक्कर दिएर नौ जना पैदल यात्रीको मृत्यु भएको छ भने तीन जना साइकल यात्रीले मोटरसाइकलकै ठक्करबाट ज्यान गुमाएका छन् । कार्यालयले मोटरसाइकल स्वयम् चालकका लागि मात्र होइन अरूका लागि पनि असुरक्षित सवारी देखिएको जनाएको छ ।
उक्त अवधिमा दुई सय ५३ वटा सवारी दुर्घटना भएका छन् । जसमा तीन सय ९२ सवारी साधन परेका थिए । ती दुर्घटनामा एक सय ७८ वटा मोटरसाइकल परेको कार्यालयले जनाएको छ । यसैगरी दुर्घटना पर्नेमा दोस्रो स्थानमा ट्रक÷ट्याङ्कर रहेका छन् । सो अवधिमा ६५ वटा ट्रक/ट्याङ्कर दुर्घटनामा परेको ट्राफिक कार्यालयको तथ्याङ्क छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार दुर्घटनाको कारणमध्ये अधिकांश घटना मोटरसाइकल अनियन्त्रित भएर हुने गरेका छन् । साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गतिका कारण दिनहुँ दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।
मोटरसाइकल दुर्घटनामा पर्नेहरु २० देखि ४० वर्ष उमेरसमूहका रहेका गिरीले जानकारी दिनुभयो । ठाउँठाउँमा सवारी चेकजाँच, जनचेतनाका कार्यक्रमसँगै गति परीक्षणका लागि उपकरण मगाउने काम पनि भइरहेको उहाँको भनाइ छ । कार्यालयले स्कूल–कलेजहरुका विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । रासस