धर्म-संस्कृतिको जगेर्ना र विकास गर्नमा महायज्ञकाे सहयोग रहने गर्छ: नेता बानियाँ

निरन्तर न्यूज
७ फाल्गुन २०८१, बुधबार २०:२७

हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल ट‍ोल विकास संस्थाको आयोजनामा बुधबारदेखि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुरू भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले धर्मले सबैलाई सत्य र ठिकको बाटोमा हिड्न प्रोत्साहित गर्ने बताउँदै धर्मको आडमा राजनीति गर्न नहुने बताए । उनले धर्म संस्कृतिको जगेर्ना र विकास निमार्णमा महायज्ञले सहयोग गर्ने बताउँदै सबैलाई आफ्नो गच्छे अनुसार दान गर्न अनुरोध गरे । उनले आफु यसअघिदेखि नै शान्तिटोलको विकासमा जोडिइरहेको बताउँदै विपी गणेशमान स्मृति शान्ति पार्कमा निर्माण हुने राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र भवनलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा-६ वडाका अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतम, नेकपा एमाले हेटौंडा-६ का वडा अध्यक्ष विश्वराज राई, कामधेनु बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईं, टोल विकास संस्थाका कोषाध्यक्ष पूर्णभद्र चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, हेटौंडा-६ का राजनीतिक दल, संघसंस्था, सहकारी, टोल विकास, धार्मिक संघसंस्था लगायतका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । महायज्ञ समुद्घाटन अघि शान्तिटोलबाट शुरू भएको कलश यात्रा बंशगोपाल मन्दिर पुगी पुनः शान्तिटोल महायज्ञस्थल आएको थियो ।
शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु