ट्रम्पसँगको पत्रकार सम्मेलनमा मोदीले भने : युक्रेन–रुस द्वन्द्वमा भारत शान्तिको पक्षमा

काठमाडौं । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले युक्रेन–रुस द्वन्द्वमा भारत तटस्थ नरहेपनि शान्तिको पक्षमा रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पत्रकार सम्मेलनमा मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्धबारे भारतको धारणा राखेका हुन् ।
‘मानिसहरू सोच्छन् – भारत रुस–युक्रेन द्वन्द्वमा तटस्थ रह्यो, तर यो गलत हो,’ उनले भने, ‘भारत शान्तिको पक्षमा रहेको छ । दुबै पक्षले वार्ता गर्नुपर्छ भनेर हामीले सधैं भन्दै आएका छौं ।’
मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसासमेत गरे ।
ट्रम्पले भने रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँगको आफ्नो फोन वार्ताका बारेमा कुरा गरे । वार्ताले युक्रेनमा युद्ध अन्त्य गर्ने सुरुवात गर्नेमा उनले आशा पनि व्यक्त गरे ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा पनि लेखेका छन्, ‘रुस र युक्रेनसँग सकारात्मक वार्ता भएको छ । युद्ध अन्त्य हुने सम्भावना छ ।’
यसअघि बुधबार ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुरा गरेको र उनीसँग भेट्ने तयारी भएको बताएका थिए ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पको रुस–युक्रेन युद्धको टिप्पणीबारे आफ्नो धारणा राखेका छन् । उनले भनेका छन्, ‘आफैँले यसमा भाग नलिएसम्म युक्रेनले युद्धको कुनै पनि सम्झौता स्वीकार गर्दैन ।’