अमेरिका पुगे भारतीय प्रधानमन्त्री माेदी, अमेरिकी गुप्तचर प्रमुख गब्बार्डसँग भेटघाट

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । उनी नेपाली समयअनुसार बिहीबार बिहानै राजधानी वासिङ्टन डीसी पुगेका हुन् ।
भारत र अमेरिकाबीच एक वृहत विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न आफू उत्साहित रहेको मोदीले बताएका छन् ।
‘म केही समयअघि वाशिंगटन डीसी पुगेको छु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम छ । यसका लागि उत्साहित छु,’ अमेरिका पुगपछि उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारत र अमेरिकाबीच एक वृहत विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न पनि उत्साहित छु । दुवै देशले हाम्रा जनताको राम्रो भविष्यका लागि सँगै काम गरिरहने छन् ।’
ट्रम्पलाई भेट्नुअघि उनले अमेरिकी गुप्तचर प्रमुख तुलसी गब्बार्डलाई भेटेका थिए । ट्रम्प र मोदीबीचको भेटमा व्यापार, लगानी, ऊर्जा, रक्षा, प्रविधि र आप्रवासनजस्ता विषयमा वार्ता हुने सम्भावना छ । यसबाहेक, दुई नेताहरूबीच ट्यारिफको बारेमा पनि वार्ता हुन सक्ने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
राष्ट्रपतिको पदभार ग्रहण गरेको केही हप्ताभित्र ट्रम्पले बोलाएकामध्ये भारतका प्रधानमन्त्री मोदी चौथो शीर्ष नेता हुन् ।
आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, जापानी प्रधानमन्त्री शिगेरु इशिबा र जोर्डनका राजा अब्दुल्लाह द्वितीयलाई ह्वाइट हाउसमा भेटेका छन् ।
अमेरिकाकाे समय अनुसारकाे कार्यक्रम
१६ बजे माेदी ह्वाइट हाउसमा पुग्ने
१६ :०५ देखि १६ :५० बजे सम्म माेदी- ट्रम्प भेटघाट
१७ :१० बजे माेदी र ट्रम्पकाे तर्फबाट संयुक्त प्रेस बक्तव्य
१७ :४० देखि १८:४० बजे सम्म ट्रम्पले आयाेजना गरेकाे रात्रीभाेजमा सहभागि