क्युपेक मकवानपुरको आठौं जिल्ला अधिवेशन फागुन २ मा हुने

हेटाैँडा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) को आठौं मकवानपुर जिल्ला अधिवेशन (पर्सि) २ गते हुने भएको छ ।
निर्माण सम्बद्ध क्षेत्र तथा पर्यावरण क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकहरु संगठीत मकवानपुर क्युपेकका अध्यक्ष प्रह्लाद राईले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै अधिवेशनबारे जानकारी दिएका हुन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को शसक्त घटक युनियनका रुपमा रहेको क्युपेकले आम अनौपचारिक निर्माण र पर्यावरण क्षेत्रका श्रमिकहरुका पक्षमा राज्यसँग निती निर्माणमा पहल गर्नुका साथै कार्य स्थलमा पर्ने समस्याहरुलाई सम्बोधन गर्ने काम गर्दै आइरहेको छ।
शुक्रबार हुने जिल्ला अधिवेशनको उद्धघाटन पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा गरिने छ ।
उद्धघाटन कार्यक्रम बागमतीका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री प्रेमभक्त महर्जनको प्रमुख अतिथ्यता र क्यूपेक नेपालका केन्द्रीय अध्यक्षको विशेष आतिथ्यतामा हुने बताइएको छ ।
सम्पन्न अधिवेशनले विर्वाचनद्वारा आगामी ३ बर्षका लागि १९ जना सदस्यीय नँया कार्यसमिति चयन गर्नेछ ।
जिल्लामा क्युपेकमा १ सय ७५ जना प्रतिनिधि र ३ हजार ५ सय साधारण सदस्यहरु आवद्ध छन् भने देशभर १ लाख ८७ हजार ७ सय १७ जना सदस्य आवद्ध छन् । मकवानपुरमा क्युपेकको स्थापना २०६० सालमा स्थापना भएको हो ।