फागुनमा प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुने

निरन्तर न्यूज
२४ माघ २०८१, बिहीबार १०:४५

हेटाैँडा । मकवानपुरको हेटौंडा १३ पदमपोखरीमा साँस्कृतिक महोत्सव हुने भएको छ । हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको आयोजनामा ३ दिने प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुने भएको हो ।

वडा कार्यालयले बुधबार पत्रकार भेटघाट मार्फत आगामी ४-६ फागुनसम्म पदमपोखरीको लोकतान्त्रिक चोकमा महोत्सव हुने जानकारी दिइएको हो । स्थानीय व्यापार, कृषि उपज उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वडा सदस्य तथा महोत्सव मूल समारोह समितिकी संयोजक रन्जु गेम्जाले जानकारी दिइन् । महोत्सवले वडाबासीको आर्थिक स्थितिलाई समेत उकास्ने तथा पदमपोखरीको पहिचानसँगै आन्तरिक पर्यटनलाई टेवा पुर्याउने, कला, साहित्य तथा संस्कार, संस्कृति जगेर्ना गर्न सहयोग पुग्ने उनले बताइन् ।

नेपाली राष्ट्रिय मौलिकतालाई झल्कने गरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय परम्परागत उपभोग्य कृषि उपज मकैको खोस्टाबाट बनेको चकटी, बाबियो/बाँसजन्य सामग्री मान्द्रो, नाङ्लो र परालबाट बनेको गुन्द्री, काठजन्य सामग्री, कृषिजन्य उत्पादन तरकारी, फलफूल, मकै, कोदो, फापर, गहुँ चामलको पिठो महोत्सवको आकर्षण रुपमा रहने बताइएको छ ।महोत्सवमा खानाका विभिन्न परिकारसहित ८० वटा स्टलहरु रहने छ ।

महोत्सवमा रोज मोक्तान, प्रिति आले, प्रकाश तितुङ, बिक्रम लुङ्बा, धिरेन लामा लगायत कलाकारहरुको सांगीतिक प्रस्तुती रहने छ । १३ नम्बर वडाको ४ लाख रुपैयाँ, हेटौंडा उपमहानगरपालिकाको २ लाख रुपैयाँ र बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट १ लाख रुपैयाँ गरी कुल ७ लाख रुपैयाँको सहयोगमा महोत्सव आयोजना गर्न लागिएको वडा अध्यक्ष पेम्बा लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु