रेडियो मकवानपुरको १५ औँ वार्षिकोत्सवको समापन

निरन्तर न्यूज
२२ माघ २०८१, मंगलवार १९:५०

हेटौडा । रेडियो मकवानपुरको १५ औँ वार्षिकोत्सवको समापन समाराेहमा मकवानपुरकै एक मात्र सगरमाथा आरोही विक्रम कार्की र प्रधानाध्यापक मालती उप्रेतीलाई सामुदायिक सम्मान प्रदान गरिएको छ ।

रेडियो मकवानपुरको १५ औँ वार्षिकोत्सवको समापनका क्रममा मङ्गलवार बकैया ४ का कार्कीलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभयो ।

कार्कीले सगरमाथासहित नेपालको ३० वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ । सगरमाथा आरोही कार्कीले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको बताउनु भयो । ‘हिमालको आरोहण गर्नु आफैँमा चुनौतीपूर्ण काम हो,आफ्नै सोखले सगरमाथासहित ३० वटा हिमालको आरोहण गरेको हुँ’, उहाँले भन्नु भयो, ‘मसँगै सगरमाथा आरोहणको यात्रामा निस्किएका नजिकको साथी समेत गुमाएँ । मकवानपुरकै पहिलो सगरमाथा आरोही हुन पाएकोमा खुसी छु उहाँले भन्नु भयो ।’

यस्तै अमर मावि हेटौडाको शैक्षिक स्तर सुधार गरी उत्कृष्ट महिला प्रधानाध्यापकको रूपमा स्थापित मालती उप्रेतीलाई पनि सामुदायिक सम्मान प्रदान गरीएको छ । हेटौँडा १ की उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री लामासंगै बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ,रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली लगायतले उनीहरूलाई नगद, सम्मान पत्र र दोसल्ला प्रदान गर्नुभयो । सम्मानित व्यक्तित्व प्रधानाध्यापक उप्रेतीले रेडियोले सम्मानका लागि योग्य ठानेकोमा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

‘विगत ३ दशकदेखि शिक्षण पेसामा छु । केही वर्षदेखि हेटौँडाको अमर माविको प्रधानाध्यापक भएर काम गरिरहेको छु । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सक्दो काम गरिरहेको छु’, उहाँले भन्नुभयो । यस्तै रेडियोले उत्कृष्ट कर्मचारीको रूपमा प्राविधिक शाखा प्रमुख एनिस लुइँटेललाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिलाई सम्मान समेत गरिएको स्टेशन मेनेजर गणेश दर्पण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु