पत्रकार महासंघ मकवानपुरले जित्यो मिडिया कप फुटसल

निरन्तर न्यूज
२१ माघ २०८१, सोमबार १८:४३

हेटौंडा । मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मकवानपुरले जितेको छ ।

५ औं संस्करणको रेडियो मकवानपुर कप मिडिया स्तरीय ‘मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि पत्रकार महासंघ मकवानपुरले जितेको हो ।

रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार मकवानपुरगढी–३, स्थित मक्राञ्चुलीको फुटसल मैदानमा भएको फाइनल खेलमा पत्रकार महासंघ मकवानपुरले थाहा–नवयुग मिडियालाई १२–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा महासंघको टिमले थाहा–नवयुग विरुद्ध ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप ७ गोल गरेको थियो ।

पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य गणेश दुलालको नेतृत्वमा रहेको महासंघको टिमलाई सचिव केशव समर्पणले व्यवस्थापन गरेका हुन्  ।

त्यसअघि महासंघको टिमले आयोजक रेडियो मकवानपुरलाई ३–२ ले हराएको थियो भने उपविजेतामा सिमित भएको थाहा÷ नवयुग मिडियाले बागमती एक्सप्रेसलाई २÷१ गोल अन्त्रले पराजित गरेको थियो ।

प्रतियोगितामा ४ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको लागि नाम दर्ता भएका थप ४ टिम सहभागि भएका थिएनन् । प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद र हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको छ।

गत वर्ष भएको चौंथो संस्करणको फुटसल प्रतियोगिताको उपाधि टिम एन्ड्रसले  जितेको थियो । प्रतियोगिताको उपाधि विजेता पत्रकार महासंघ र उपविजेता नवयुगको टिमलाई मंगलबार रेडियो मकवानपुरको वार्षिकोत्सवको समापन कार्यक्रममा नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु