रेडियो मकवानपुरकाे वार्षिकाेत्सवमा संस्कृत विद्यालयलाई सहयाेग

हेटौंडा १० गोरक्षश्वर धाममा रहेको संस्कृत वेद विद्यालयलाई रेडियो मकवानपुरले खाद्यान्न सहयोग गरेको छ ।
सामुदायिक रेडियोको १५ औं वार्षिकोत्सव अन्तर्गत आयोजित सप्ताहव्यापी कार्यक्रमको क्रममा शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयलाई खाद्यान्न सहयोग हस्तान्तरण गरिएको हो । रेडियोले चामल, दाल, तेल, नुन लगायतका सामग्री सहयोग
गरेको हो । रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा अध्यक्ष लामाले मकवानपुरकै एकमात्र संस्कृत वेद विद्यालयलाई सर्वपक्षीय सहयोग जरुरी रहेको औंल्याए । वडाले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा पनि सहयोग जारी रहने बताए । कार्यक्रममा बकैया गाउँपालिका ११ नम्बर वडा अध्यक्ष गोपालबहादुर न्यासुर, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागमती गाउँपालिका सभापति शंकर पराजुली लगायतको आतिथ्यता रहेको थियो । प्रधानाध्यापक अधिकारीका अनुसार विद्यालयमा ३७ जना अध्ययनरत रहेका छन् ।
विद्यालयमा मन्दिर र होमकुण्ड आवश्यक रहेको उनले जानकारी दिए । विभिन्न समुदायका विद्यार्थीले संस्कृत अध्ययन गरिरहेका छन् । रेडियोले प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने गरेको छ ।
वार्षिकोत्सव अन्तर्गत शनिबार मकवानपुरगढी गाउँपालिका ४ ठेकीचोकमा स्वास्थ्य शिविर रहेको छ । यस वर्ष सहिद परिवार सम्मान, अन्तरक्रिया, निशुल्क स्वास्थ्य शिविर, सेनेटरी प्याड वितरण, मिडिया कप फुटसल प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको रेडियोका स्टेसन मेनेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
रेडियो मकवानपुरले स्थापनाकाल देखि वार्षिकोत्सवको अवसरमा दुईजनालाई सामुदायिक सम्मान तथा हरितालिका तीजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्मान समेत प्रदान गर्दै आएको छ ।