स्वतन्त्र साहित्यकारहरुको सम्मेलन

निरन्तर न्यूज
२० जेष्ठ २०७६, सोमबार १०:५५

काठमाडौं । कुनै पनि पार्टी तहमा नबसेका, बेग्ला बेग्लै भाषामा साहित्य रचनामा लागेका स्वतन्त्र साहित्यकारहरुको सम्मेलनले शनिबार भ्रष्टाचार र बेथिति विरुद्ध सिर्जनात्मक हस्तक्षेपको अभियान शुरु गर्न भाषाभाषीहरुको स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन गरेको छ ।

हालसम्मको यसरी फरक–फरक भाषामा कलम चलाउने साहित्यकारहरुको एउटै यस्तो साझा साहित्यिक सञ्जाल वा संगठित भई स्वतन्त्र रुपमा भ्रष्टाचार र बेथिति विरुद्ध प्रयोजनपरक साहित्यिक अभियान पहिलो भएको पनि अभियानले जनाएको छ ।

अभियान अन्तर्गतको सँस्कृत देखि नेपाली, उर्दू, राई, बाहिंग, लिम्बू, नेपाल भाषा, मैथिली भोजपुरी, तामाङ, थारु भाषासम्ममा कलम चलाउने साहित्यकारहरुको सहभागिता रहेको थियो । भेलाले स्वतन्त्र राष्ट्रिय अभियान नेपालको साहित्य कला विधा अन्तर्गतको केन्द्रीय समिति काठमाडौंमा गठन गरेको हो । समितिको नाम ‘स्वतन्त्र राष्ट्रिय साहित्य कला अभियान’ रहनेगरि समिति गठन गरिएको अभियानले जनाएको छ ।

समिति गठन कार्यक्रममा बोल्दै अभियानका संयोजक स्वागत नेपालले विविध भाषा, संस्कृति, पहिचान र सृजनालाई समेट्नेगरि यो साहित्य कला अभियान गठन गरिएको जानकारी दिए । ‘यो समिति केन्द्रीय समितिकै एक अंग हो, उनले भने, ‘अभियानको मूल्य र मान्यतामा रहि यो साहित्य कला समितिले जनतामा जागरण ल्याउनेछ ।’ हाल भइरहेको राजनीतिबाट अलग रहेर बैकल्पिक शक्तिका रुपमा स्वतन्त्र राष्ट्रिय अभियान जनतामाझ आएको उनले जानकारी दिए । अभियानले विभिन्न पेशा, विद्यार्थी, बेरोजगार लगायत सबै नागरिकलाई समेटेर सत्ताको आडमा हुने भ्रष्टाचार र अपराधीकरण विरुद्ध काम गर्ने संयोजक नेपालले बताए ।

सम्मेलनले प्राध्यापन पेशामा संलग्न साहित्यकार योगलाल गौतमको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय साहित्य कला समिति गठन गरेको छ । सो समितिका विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिल्ला र क्षेत्रका समितिहरु निर्माण गर्ने जिम्मा समेत दिइएको छ ।

उक्त समितिको उपाध्यक्षमा अम्बु विहानी, महासचिवमा दीपक थापा, सचिवमा रजनी खत्री, र कोषाध्यक्षमा रिजवान खान रहेका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण सिटौला, सिद्धी भरत चेपाङ्ग, अविरल राई, भुषण हुमागाईँ, अनुभव आत्रेय, सोना आचार्य, अमृतलक्ष्मी जोशी, भूमिका थारु , रामनारायण शर्मा, श्याम लिम्बू, पदम श्रेष्ठ, दानदास श्रेष्ठ, निश्चल श्रेष्ठ, इन्द्रारानी राई, वविता ढकाल, रसिक किरात राई, विजेता चौधरी, बादल घिमिरे, रञ्जित तामाङ, विदुर पौडेल, दीपेन्द्र रसाइली, नितु कोइराला, विमल गौतम, चिरञ्जिवी नेपाल, राजु मग्राती, सिर्जना घिमिरे, मनिता बस्नेत र रामप्रसाद रिमाल रहेका छन् । साथै अभियानले नेपाली साहित्यको कालक्रमिक विभाजनमा नयाँ साहित्यिक धारा शुरु गरेको पनि जनाएको छ ।

कार्यक्रममा नयाँ साहित्यिक धाराको कार्यभारका रुपमा वर्तमान व्यवस्था सही अर्थमा लोकतन्त्र नभएकोले सही अर्थमा पूर्ण लोकतन्त्रको लागि साहित्यिक हस्तक्षेपको अभियान शुरु गरिने वक्ताहरु बताएका छन् । यस अभियानले सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने व्यवस्था, जनताको स्पष्ट बहुमत प्राप्त गर्नेले मात्र सरकार बनाउन पाउने व्यवस्था, पार्टीले गलत व्यक्तिलाई उम्मेदवार बनाउँदा उम्मेदवार बहिष्कार गर्न पाउने व्यवस्था आदि लगायत राजनीतिबाट हराएको अध्यात्म र दर्शनको पुनर्जागरण गराउने लक्षमा साहित्यिक अभियान सञ्चालन गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*