मकवानपुरका २२ हजार बढी किशोरीलाई एचपिपि विरुद्धको खोप लगाइने
![](https://www.nirantarnews.com/wp-content/uploads/2025/01/Hpp-khop.jpg)
हेटौंडा । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत मकवानपुर जिल्लामा २२ हजार ७१३ जना किशोरीलाई एचपीभी खोप लगाईने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तरगत पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको हाे ।
जिल्लाका विद्यालयहरुमा अध्ययनरत ६ कक्षा देखि १० कक्षा सम्मका छात्राहरुलाई लक्षित गरी खाेल लगाइने भएकाे छ । विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशाेरीलाई समेत उक्त खाेप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जनस्वास्थ्य कार्यालय मकवानपुर प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
फेब्रुअरी ४ मा मनाईने विश्व क्यान्सर दिवसको अवसर पारेर पाठेघरको मुखको क्यान्सर विरुद्ध (एचपिभी खोप) लगाउन लागिएको हाे । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकोले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाईने भएकाे हाे । ‘पहिलो चरणमा अभियान अन्तरगत कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाइने प्रमुख मिजारले बताए । स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुरुप खोप डोज माग गरिएकाे बताउँदै उनले भने २२ माघदेखी २५ माघसम्म खाेप संचालन हुनेछ । केही स्थानीय तहले भने २८ माघसम्म खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।
उक्त खाेपकाे लागि संकलन गरिएकाे तथ्याङ्क अनुसार मकवानपुरमा सबैभन्दा बढी किशोरीहरु हेटौंडा उपमहानगरमा रहेकाे पाइएकाे छ। उपमहानगरपालिकाका विद्यालयमा अध्ययनरत ११ हजार ६८ जना र विद्यालय बाहिरका १०५ जना गरी ११ हजार १७३ जनालाई खोप लगाइने छ । यसैगरी थाहा नगरपालिकामा विद्यालयका १ हजार ८ सय १६ जना र विद्यालय बाहिरका ७३ जनागरि एक हजार ८ सय ८९ जना, ईन्द्रसरोवर गाउँपालिकामा विद्यालयका ४४८ जना र विद्यालय बाहिरका ३८ जनागरी ४८६ जना, मकवानपुरगढीमा विद्यालयका १ हजार १२ जना र विद्यालय बाहिरका ६१ जनागरी १ हजार ७३ जनालाई एचपीभी खोप लगाइने बताइएकाे छ ।
त्यस्तै, भीमफेदीमा विद्यालयका ८११ जना र विद्यालय बाहिरका ३३ जनागरी ८४४ जना, मनहरीमा विद्यालयका २ हजार २ सय जना र विद्यालय बाहिरका ६२ जनागरी २ हजार २६२ जना, राक्सिराङमा विद्यालयका ७ सय ७९ जना र विद्यालय बाहिरका १९ जनागरी ७९८ जना, कैलाशमा विद्यालयका ९२२ जना र विद्यालय बाहिरका ७९ जनागरी १ हजार १ जनालाई खोप लगाइने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
यसैगरी बागमतीमा विद्यालयका १ हजार ३०७ जना र विद्यालय बाहिरका ३२ जनागरी १ हजार ३३९ जना र बकैयामा विद्यालयका १ हजार ६९६ जना र विद्यालय बाहिरका १ सय ५२ जनागरी १ हजार ८४८ जना किशोरीलाई खोप लगाइने उनले बताए ।
‘जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकेका छौं, अब सबै खोपकेन्द्रबाट खोप लगाउँछौं’ प्रमुख मिजारले भने । जिल्लाका सवै स्वास्थ्य चौकी तथा केन्द्रहरुले समेत पालिका तथा वडामा अभिमुखीकरण कार्यक्रम गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका सवै स्वास्थ्य केन्द्रमा मंगलबार अभिमुखीकरण गरिएकाे छ ।
अभियानमा सिकोलिन नामक खोप लगाइने बताउँदै मिजारले भने ‘स्वास्थ्यकर्मीबाट ०.५ मिलि खोप मासुमा लगाउने खाेप हाे ।’ यो खोप नेपाल सरकारले आव ०८२/०८३ देखी नियमित रुपमा लगाउने गरी तयारी गरेकाे बताइएकाे छ । सरकारी तयारी पुरा भए आगामी वर्षहरुमा १४ वर्ष माथि उमेरसमूहलाई पनि खोप लगाउने गरी आउने उनले जानकारी दिए ।
प्रदेशको अवस्था
यसैगरी बागमती प्रदेशमा भने २ लाख ९८ हजार ५५९ जनालाई उक्त खोप लगाइने छ । खाेप विद्यालयका ६ कक्षादेखि १० कक्षाका २ लाख ७५ हजार ७१ जना किशाेरी तथा विद्यालय बाहिरका २३ हजार २३४ जना किशोरीलाई लगाइने लक्ष्य रहेकाे स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा नरेन्द्र झाले जानकारी दिए । उक्त भाइरस पुरुषकाे कारण सर्ने समेत बताइएकाे छ ।
सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १ हजार ३ सय महिलाको निधन हुने गरेको जनाइएको छ । खाेप अभियान २२ माघदेखि ६ फागुनसम्म देशैभरी संचालन हुनेछ ।