हेटौंडा उपमहानगरमा चौबीसै घण्टा खानेपानी वितरण सहज बनाउन छलफल

हेटौंडा । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले हेटौंडामा खानेपानीलाई सहज बनाउन र २४ घण्टा पानी वितरणका लागि आफ्नो योजना सहित आफ्नो वर्तमान अवस्थाको बारेमा सरोकारवाला पक्षसंग छलफल र अन्तरक्रिया गरेको छ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, वडा अध्यक्षलगायतका विभिन्न क्षेत्रका सरकोकारवालाको उपस्थितिमा सोही विषयमा अन्तरक्रिया गरिएको हेटौंडा खानेपानी बोर्डका सुचना अधिकारी संजय न्यौपानेले बताएका छन्।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्टले बोर्डले उपमहानगर क्षेत्रमा दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार १ सय १२ वटा धाराहरुमार्फत् ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको कुरा सहभागीहरुलाई जानकारी गराएका थिए। बोर्डले आफनै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डीप ट्यूवेल निर्माण कार्य सम्पन्न गरेको छ । संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र यस बोर्डको सहलगानीमा करिब १५ करोडको लागतमा ओभर हेड पानी टंकी १ वटा, भूमिगत पानी टंकी ३ वटा, डीप बोरि· ४ वटा, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतीकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताए ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरको १ देखि १९ वडामध्ये वडा नम्बर–२, ४, ५, ६, ७, ८, ९, १० र १४ पुरै र वडा नं. १, ३, १५, १६, १७, १८ र १९ का आंशिक क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीलाई खानेपानी वितरण गरिरहेको बोर्डका निमित्त प्रमुख विष्णु सापकोटाले जानकारी दिएका छन्।