भारतकाे जलगाउँ रेल दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ७ पुग्यो (बिज्ञप्तीसहित)

निरन्तर न्यूज
११ माघ २०८१, शुक्रबार २०:०७

काठमाडौं । भारतको महाराष्ट्र राज्यको जलगाउँमा बुधवार भएको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जना छन् ।

अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी छन् । यसै गरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी ४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयकाे बिज्ञप्ती

Loading...

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु