मकवानपुरगढीमा मनाइयाे २६२ औं विजय उत्सव

हेटाैँडा ऽ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित ऐतिहासिक गढीमा २६२ औं विजय उत्सव मनाइएको छ ।
नेपाली गोरखाली सेनाले पहिलो पटक विदेशी सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै मकवानपुरगढीमा बिहीबार विजय उत्सव मनाईएको हो ।
विदेशी फौजमाथि विजयप्राप्त गरेको खुशीयालीमा माघ १० गते विजय उत्सव मनाउने गरिन्छ । मकवानपुरगढी गाउाँपालिकाकाे आयोजनामा भएकाे विजय उत्सव कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गढी मकवानपुर जिल्लामा मात्र नभई देशै भरी परिचय बनाएकाे तथा ऐतिहासिक स्थान भएकाले यसलाई प्रवर्द्ध गर्नु पर्ने बताए । ‘गढीकाे संरक्षणसँगै प्रवर्द्धन गर्दा पर्यटक बढने र आम्दानी पनि बढ्छ’ उनले भने ।
लामाले देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मकवानपुरगढी दरवार क्षेत्रको संरक्षण एवम् प्रर्बद्धनका लागि मास्टर प्लान बनाउनु पर्ने बताए । गढी क्षेत्र भ्रमणकाे लागि आउने पर्यटककाे लागि इतिहासकाे जानकारी दिदैं पर्यटकलाई केही समय भुल्याउने प्रकृतिका काम गर्नुपर्ने उनले जानकारी दिए । कार्यक्रममा मकवानपुरगढी गाउपलिका भित्र उत्पादन भएका रैथाने परिकारहरुको पनि कृषि मेला प्रदर्शनी गरिएको थियो । जसमा रैथाने बालि खाद्य परिकारसंगै रैथाने परिकारको बिक्री वितरणको लागि छुट्टै स्थानको व्यवस्थापन पनि गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, मध्यपृतना हेटौंडाका निमित्त पृतनापति सुवासजंग थापा, गोरखबहादुर गणका गणपति निरन्जन धामी, गाउँपलिकाका प्रमुख प्रसासकीय अधिकृत सुदन लामिछाने, वडा अध्यक्षहरु, कार्यकापालिका सदस्य लगायतको उपस्थित रहेकाे थियाे ।
युद्ध र गढीकाे इतिहास
आज भन्दा २६१ वर्ष अघि मुगल सैनिकबाट गोर्खाली माथि गरिएको आक्रमणको पथ प्रदर्शक पराजित सेन राजा दिग्वन्धन सेन थिए। मिरकासिमसँग वार्ता मिलेपछि युद्द गर्न वंगाली सेनाको फौज सहित दिगवन्दन सेन मकवानपुरगढतर्फ लागे । राजा दिग्वन्धन सेन चुरियासम्म आएर पछि हटे । चुरिया डाँडा काटेर १८१९ पौष २७ गते मीरकासिमको फौजले हर्नामाडी चौकी आक्रमण गरे । उक्त आक्रमणमा करिब ३ हजार फौजीहरु खटाईएको थियो । यसरि आक्रमण गर्न आएको कुरा दहचोक गढीमा बसेका राजा पृथ्वीनारायण शाहलाई रातारात खबर पुग्यो ।
यसैबिच गोर्खाली सेनाहरु गएर मिरकासिमको फौजमाथि ढुङगा मुढा बर्साए । कोहि क्याम्पमै र कोहि भारि बोकेर गढीतर्फ आइरहेको देखेर गोर्खालीका सेनापति नहर सिंह बस्न्यात, केहलर सिंह बस्न्यात, वंश राज पाँडे, जीव शाह, हर्कपन्त, रामकृष्ण, कुँवरको नेतृत्वमा गोर्खालीहरुले शिखरकटेरीमाथिबाट ढुङ्गा मुढा बर्साए ।
युद्द हुँदै जादा वि.स १८१९ माघ १० गते भएको अन्तिम लडाईमा मिरकासिमका नायव नवाव सेनाको हार भयो । यस युद्धमा मीरकासिमका सत्र सय जवान र गोर्खालीका ३० जना सेनाको मृत्यु भएको थियो । युद्धबाट गोर्खालीलाई ५ सय बन्दुक, २ तोप, बारुद, गोला लाभ भएको थियो । गोर्खालीहरुले बिदेशी सैनिकमाथि विजय प्राप्त गरेकोले मनोबल उच्च भएको थियो । बंगालका सेनाबाट नेपाली फौजले थुप्रै तोप, गोलीगठ्ठा तथा हातहतियार जफत गरे । यसरी जफत भएका हातहतियार जम्मा गरी पृथ्वीनारायण शाहले आधुनिक नेपालका ५ वटा सैनिक गुल्म स्थापना गरे । श्रीनाथ, कालीबक्स, सबुज, पुरानो गोरख, वर्दवाणीको स्थापना गरेर आधुनिक नेपालीसेनाको जग हाल्ने काम गरे ।
मुगललाई गोर्खालीहरुबाट पराजित गरेपश्चात राजा पृथ्वी नारायण शाहबाट मकवानपुरगढीमा पहिलो बिजय उत्सव मनाईएको थियो । सोहि दिनमा उक्त ऐतिहासिक दिनको सम्झनामा माघ १० गते विजयाउत्सव मनाउने गरिन्छ । नेपाली सेनामा सेना ब्यवस्थीत यो नै पहिलो गरिएको अवसर थियो नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै सङ्गठन रहेका थिए। साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पनि पहिलो अवसर थियो।
ऐतिहासिकरूपमा एक प्रभावशाली राज्य थियो त्यो । पृथ्वीनारायण शाहले वि. सं. १८१९ भाद्र ९ गते भएको युद्धमा नेपालमा गाभ्नुअघि यो राज्य सेनवंशका राजाहरूले यहाँ शासन गरेको प्रमाणित इतिहास पाइन्छ । सेनवंशीको पितृथलो बंगालमा सन् १२०२ मा नदियामाथि खिलजीद्वारा आक्रमण भएपछि सेनहरुको राज्य समाप्त भयो ।१
यिनै बंगाली सेनहरु राज्य खोसिएपछि नेपालको मिथिलालगायत स्थानमा शासन गर्न थाले । तेह्रौं शताब्दीदेखि सेनहरु पाल्पा राज्यको शासकको रूपमा समेत उदाएको पाइन्छ । तीमध्ये मणि मुकुन्दसेनको पालामा १६ औं शताब्दीको अन्त्यतिर पाल्पा पश्चिम महाकाली नदी र पूर्वमा मोरङसम्म आफ्नो सार्वभौमसत्ता कायम गरेको थियो भनी इतिहासकारहरु वर्णन गर्छन् । दुर्भाग्यवश मणि मुकुन्दसेनको शेषपछि यिनका चार भाइ छोराहरूले राज्यलाई भागबन्डा गरेर लिए ।
यसरी विशाल पाल्पा राज्यको विभाजनपछि मणि मुकुन्दसेनका कनिष्ठ पुत्र लोहाङ सेन मकवानपुरका प्रथम राजा बनेको देखिन्छ । इतिहासकारहरुका अनुसार प्रथम राजाको शासनावधि विक्रमाब्दको १६१० देखि १६५१ सम्म थियो । अन्तिम राजा दिग्बन्धन सेन हुन् । दिग्बन्धन सेन मकवानपुरमाथि गोरखाको विजय भएपछि त्यसभन्दा पूर्व हरिहरपुरतिर भाग्न विवश भए ।
करिब १३२ रोपनी क्षेत्रफलमा फैलिएको मकवानपुर गढीको लम्बाइ उत्तर दक्षिण करिब ११५ मिटर र चौडाइ ३५ मिटर छ । यो क्षेत्रफलका आधारमा सबभन्दा ठूलो गढी हो भनी पुरातत्व विभागले दावी गरेको छ । यो गढी कहिले बनेको हो भन्ने प्रमाणित तथ्य अहिलेसम्म फेला परेको छैन । तर, अनुमान के गर्न सकिन्छ भने प्रथम राजा लोहाङ सेनको पालादेखि नै यो बन्न थालेको हो । लोहाङ सेनको शासनकाल वि.सं. १६१० बाट सुरु भएको पाइन्छ ।