ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धराैटीमा छाड्ने आदेश

काठमाडौ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले ५ लाख धराैटीमा छाड्ने आदेश दिएको छ ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धराैटीमा छाड्ने आदेश दिएकाे हाे ।पाेखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आराेप छ ।
गत २५ पुसमा पाेखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेल विरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएकाे थियाे ।स्वकीय सचिव ठगी मुद्दामा जाेडिएपछि सभापति पाेखरेलले जिम्मेवारीबाट हटाएका थिए ।