उपत्यकामा दिउँसो मालबाहक सवारी चल्न नपाउने

निरन्तर न्यूज
१९ जेष्ठ २०७६, आईतवार २०:१५

काठमाडौं । आउँदो असार १ गतेदेखि काठमाडौंमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सबै खाले मालबाहक सवारीलाई चल्न निषेध गरिने भएको छ ।

यातायात व्यवस्था विभागले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म साना तथा ठूला मालबाहक सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाउने भएको हो ।तर दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीका हकमा भने यो प्रावधान लागू हुने छैन । सार्वजनिक बिदाका दिन भने सबै खालका मालबाहक सवारी चल्न दिने विभागले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बढेर चक्रपथ क्षेत्रमा समेत जाम हुन गएकाले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म साना तथा ठूला मालबाहक सवारी साधनको प्रवेश र सञ्चालन निषेध गरिएको हो । काठमाडौं र ललितपुरको चक्रपथभित्र पर्ने सबै क्षेत्रसहित भक्तपुरको भित्री शहरी क्षेत्रमा समेत यो प्रावधान लागू हुनेछ ।

त्यस्तै चक्रपथ बाहिर रहेको चाबहिल-जोरपाटी सडक, गोपीकृष्ण-कपन सडक, नारायणगोपाल चोक-बुढानीलकण्ठ सडक, बालाजु बाइपास-गोलढुंगा सडक, बगडोल-नख्खु सडक, सातदोबाटो-हरिसिद्धी सडक, ग्वार्को-चापागाउँ सडकमा समेत मालबाहक सवारी साधन विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

नयाँ प्रावधान लागू भएपछि नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने सबै मालबाहक सवारीसाधन दिनभर धादिङको सडक खण्डमा रोकिनु पर्ने हुन्छ । त्यस्तै टोखा र ककनी हुँदै आउने मालबाहक सवारी समेत दिउँसो काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु