बंगलादेशद्वारा दक्षिण अफ्रिकालाई ३३१ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय विश्वकपको पाँचौं खेल बंगलादेश र दक्षिण अफ्रिकाबीच जारी छ । आइतबार लण्डनको ओभलमा जारी खेलमा बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रन जोडेको छ ।
दक्षिण अफ्रीकाका कप्तान फाफ डुप्लेसिसले टस जितेर बलिङको फैसला लिएपछि ब्याटिङको निम्ता पाएको बंगलादेशले वडेमा आफ्नो सबैभन्दा उच्च स्कोर बनाएको छ । त्यसैगरी विश्वकपमा ३००+ रन बनाउने पहिलो एसियाली टिम पनि बंगलादेश बनेको छ । बंगलादेशले दक्षिण अफ्रिकाको विरुद्ध यसअघि ३११ रन बनाएको थियो ।
बंगलादेशका लागि मुशफिकुर रहीमले ८० बलमा ७८ रन बनाए । त्यसैगरी, शाकिब अल हसनले ७५ रन जोडे । उनले तेस्रो विकेटका लागि रहीमसँग १४२ रनको साझेदारी गरे । शाकिब-रहीमले पाँचौंपटक वनडेमा शतकीय साझेदारी गरेका हुन् ।
महमूदुल्लाह अन्तिम ओभरमा ३३ बलमा ४६ रन जोड्दै अविजित रहे । उनले यसक्रममा तीन चौका र एक छक्का हिर्काए । दक्षिण अफ्रिकाका लागि क्रिस मरिस, एण्डीले फेहलुकवायो र इमरान ताहिरले दुई/दुई विकेट लिए ।
ओपनर तमीम इकबालले १६ रन बनाएर एण्डीलेको बलमा आउट भए । उनले सौम्य सरकारसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । सौम्य ४२ रन बनाएर क्रिस मरिसको बलमा प्याभेलियन फर्किएका हुन् । मोहम्मद मिथुन २१ बलमा २१ नै रन बनाएर आउट भए । उनलाई ताहिरले बोल्ड गरे । ताहिरको यो १००औं वनडे हो । मोसादेक हुसैन २० बलमा २६ रन बनाएर मोरिसको बलमा आउट भए । उनले महमूदुल्लाहका साथ छैठौं विकेटका लागि ६६ रनको साझेदारी गरे ।