देशलाई समृद्ध बनाउन सबै पक्षबीच एकता आवश्यक : मुख्यमन्त्री लामा

निरन्तर न्यूज
२४ पुष २०८१, बुधबार २०:३३

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले देशलाई समृद्ध बनाउन सबै पक्षबीच एकता आवश्यक रहेको बताएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधरण सभा एवं अधिवेशनलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन्।

उनले सम्बोधनका क्रममा स्वदेशमै रोजगारी सृजना गरे युवा पलायन रोक्न सकिने ठोकुवा गरेका छन्।मुख्यमन्त्री लामाले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने र लगानी बढ्दा स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने दाबी गरेका हुन्।

‘हामी सबै आफै उत्पादनमुखी कार्यमा अग्रसर जरुरी छ, राज्यले उद्योगीलाई आवश्यक सुविधा उपलब्ध गराएर उत्पादन वृद्धिमा जोड्नुपर्छ – मुख्यमन्त्री लामाले भने।’

उनले सम्बोधनका क्रममा ऐन कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघिबढ्नु पर्ने समेत बताएका छन् । कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ९ करोड रुपैयाँ खर्च गरेर लगानी सम्मेलन मार्फत् ६ अर्व लगानी प्रतिवद्धता लिएपनि कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले हेटौंडा औद्योगिक क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मयुरधाप औद्योगिक क्षेत्र घोषणा भए पनि मध्यवर्ती क्षेत्रभित्र पर्न गएका कारण वनपैदावारको समस्याले उद्योग सञ्चालन हुन नसकेको बताउनुभयो।

पत्रकार बिष्ट र अधिकारीसहित अन्य सम्मानित

कार्यक्रममा ३ पत्रकार सहित १२ जनालाई सम्मान गरिएको थियो। उत्कृष्ट संचारकर्मीको रुपमा कान्तिपुुर दैनिकका प्रताप विष्टलाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ साथै रेडियाेतर्फ प्रदेश दैनिकका सम्पादक एवं रेडियो मकवानपुरका स्टेशन मेनेजर गणेश दर्पण अधिकारीलाई १५ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।

 

यस्तै संघले २५ हजार रुपैयाँ सहित उत्कृष्ट साहित्य संस्थाको रुपमा साहित्य संगम मकवानपुर, उत्कृष्ट सामाजिक संस्थाका रुपमा मामाघर नेपाललाई सम्मान गरेको हो ।

उत्कृष्ट वाणिज्य सदस्यका रुपमा मोहन कृष्ण श्रेष्ठ, उत्कृष्ट उद्योग सदस्य नरहरि नन्दन उप्रेती, लाई सम्मान गरेको छ भने इभान्स लाइफ साइन्सेसलाई उत्कृष्ट एशोशिएट सदस्य, मोवाइले एसोसिएसन अफ मकवानपुरलाई उत्कृष्ट वस्तुगत सदस्य, उत्कृष्ट कर्मचारीबाट दुर्गा लामिछान, पल्पसा प्याराडाइजका परिकल्पनाकारका रुपमा संघका पूर्व अध्यक्ष कृष्ण कटुवाल र पुर्व अध्यक्ष हिटलर विसेतलाई विशेष सम्मान प्रदान गरेको छ ।

संघको नयाँ नेतृत्वका लागि २७ गते निर्वाचन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु