अध्यक्षका उम्मेदवार रानाभाटकाे ‘प्रतिवद्धताकाे दृष्टिकाेण’ सार्वजनिक

निरन्तर न्यूज
२१ पुष २०८१, आईतवार २०:४१

हेटाैँडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिं रानाभाटले आज आइतबार साँझ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

आफ्नो प्यानल सेट घोषणा गरेसँगै उम्मेदवार रानाभाटले भावी योजना सहितकाे घाेषणापत्र सार्वजनिक गरेका हुन् । रानाभाटले यसलाई  केवल आफ्नो उम्मेदवारीको घोषणा पत्र मात्र नभएर निरन्तर प्रयास र प्रतिवद्धताको दृष्ट्रिकोण रहेको भने । पदको लागि होइन, व्यवसायी समूदायको हितका लागि स्थायी र प्रतिवद्ध रुटिनका रुपमा अघि बढाउँने उनले जनाए । व्यावसायिक जीवनमा मैले सधैं व्यवसायीको हितका लागि काम गर्दै आएको छु । यस क्रममा मैले व्यवसायिक समृद्धि र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने प्रयास गरेको छु, रानाभाटले भने ।

यस्ता छन् रानाभाटका भावी योजनाहरुः
१ सबै व्यवसाय क्षेत्रलाई समेट्नेः जिल्लाभरका ठूला, साना तथा मझौला उद्योग, व्यापार, सेवा क्षेत्र, र उत्पादनमूलक गतिविधिलाई एकीकृत गरी उनीहरूको हकहितका लागि काम गर्ने ।
२ उद्यमशीलताको प्रवद्र्धनः स्थानीय स्तरमा नयाँ उद्यमी विकासका लागि तालिम, गोष्ठी, र सहकार्यका कार्यक्रम सञ्चालन गर्दै नयाँ व्यवसाय स्थापना गर्न सहजीकरण गर्ने ।
३ कर र नीतिगत समस्याको समाधानः व्यवसायीलाई कर सम्बन्धी अन्योलताबाट मुक्त गराउन र नीतिगत समस्यामा सहजीकरण गर्न सरकारी निकायहरूसँग निरन्तर सम्वाद र सहकार्य गर्ने ।
४ उद्योगमैत्री वातावरण निर्माणः मकवानपुरलाई देशकै प्रमुख उद्योग तथा व्यापार केन्द्र बनाउने उद्देश्यले उद्योगमैत्री नीतिहरूको सिफारिस र कार्यान्वयनमा पहल गर्ने ।
५ संरचनागत सुधारः संघको भवन र भौतिक पूर्वाधारको सुधार एवं विस्तार गर्दै व्यवसायीहरूका लागि आधुनिक सेवासुविधा उपलब्ध गराउने ।
६ संकट व्यवस्थापन कोष स्थापनाः व्यवसायीहरूको आपतकालीन समस्या समाधानका लागि संघको आन्तरिक स्रोतबाट संकट व्यवस्थापन कोष स्थापना गर्ने ।
७ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनः मकवानपुरका उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न एक्स्पोर्ट प्लेटफर्म विकास गर्ने ।

८ बैंकिङ पहुँच र सहजीकरणः बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी व्यवसायीलाई सहज ऋण प्रवाह, पुनकर्जाको सुविधा, र अन्य वित्तीय सेवा उपलब्ध गराउन पहल गर्ने ।
९ महिला र युवा उद्यमी विकासः महिला तथा युवालाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्दै उनीहरूको उद्यमशीलता प्रवद्र्धन गर्ने ।
१० श्रम ऐन र व्यवसायीको अधिकारः श्रम ऐन कार्यान्वयन र व्यवसायीका अधिकार सुरक्षित गर्न नीतिगत संवाद र पैरवी गर्ने ।
११ दीगोे विकासका लागि हरित व्यापार प्रवद्र्धनः पर्यावरणमैत्री उद्योग तथा व्यापारका गतिविधिलाई प्राथमिकता दिँदै, दिगो विकास सुनिश्चित गर्ने ।
१२ दर्ता र नवीकरण प्रक्रियामा सुधारः उद्योग वाणिज्य संघमा दर्ता र नवीकरणका लागि कार्यालयमा अनिवार्य उपस्थितिको झन्झट हटाउने । व्यवसायीहरूले आफ्नै कार्यालय वा घरबाटै अनलाइन प्रणालीमार्फत सबै प्रक्रिया पूरा गर्न सक्ने प्रविधि सिस्टम सञ्चालनमा ल्याउने ।
१३ व्यवसायीमैत्री सडक विस्तारः हेटौंडा बजार क्षेत्रको सडक विस्तारलाई प्राथमिकता दिने तर व्यवसायीलाई असर नपर्ने गरी योजना निर्माण र कार्यान्वयनमा पहल गर्ने ।
१४ साना र ठूला व्यवसायीलाई एकीकृत गर्नेः साना, मझौला र ठूला व्यवसायीबीच समन्वयकारी वातावरण सिर्जना गर्दै सबै वर्गका व्यवसायीलाई संघको गतिविधिमा समान सहभागिता गराउने ।
१५ सरकारी प्रणालीमा एकद्वार सेवाः व्यवसायीलाई सरकारी प्रक्रियामा सहजता पुर्याउन एकद्वार प्रणाली लागू गर्न पहल गर्ने । यो सम्भव नभएमा सरकारी निकायमा व्यवसायीको पक्षमा दवाब सिर्जना गर्ने ।
१६ भीमफेदी-कुलेखानी सुरुङ मार्ग निर्माणमा पहलः पालुङ, चित्लाङ, मार्खु, र फाखेल क्षेत्रलाई हिलसिटी (दार्जिलिङ र सिक्किमजस्तै ) का रूपमा विकास गर्न विशेष पहल गर्नेछु । पर्यटन प्रवद्र्धनका लागि रिसोर्ट र होटल निर्माणलाई प्रोत्साहन गर्दै, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको प्रचार गर्न विशेष पर्यटक प्याकेजको व्यवस्था गरिनेछ । भिमफेदी ( कुलेखानी सुरुङ मार्ग निर्माणमा पहल गर्दै यातायातलाई सहज बनाउने र व्यापार, पर्यटन, तथा स्थानीय विकासमा योगदान पुर्याउने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*