अब केही समय राजनीतिमै व्यस्त रहने : सन्नी देवल

मुम्बई । चलचित्रमा नायकको भूमिकामा देखिएर समाज परिवर्तनको सन्देश दिने बलिउड अभिनेता सनी देवल अहिले राजनीतिमा छन् ।
उनले भारतीय जनता पार्टीबाट लोकसभाको चुनाव जिते । देवलले शुक्रबार पन्जाबको गुरदासपुर क्षेत्रबाट लोकसभा सदस्यमा अत्यधिक मत ल्याएर चुनाव जितेपछि फिल्म क्षेत्रबारे प्रतिक्रिया दिएका छन् ।
चुनाव जितेपछि उनी आइतबार मुम्बई पुगेका छन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै अब केही समय राजनीतिमै व्यस्त रहने प्रतिक्रिया दिए ।
‘गुरदासपुरका जनताहरूले मलाई भारी मत दिएर उहाँहरूको सेवा गर्ने अवसर दिनुभएको छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘त्यसैले अहिले मेरो उद्देश्य भनेकै त्यो क्षेत्रको विकास गर्नु हो ।’
कलाकारसँगै सांसदको परिचय थपेका उनले अहिले आफू फिल्म अभिनयमा आउने कुनै तयारीमा नरहेको बताए । अभिनयमा नउत्रिए पनि फिल्म निर्माणलाई भने निरन्तरता दिन सक्ने बताइएको छ । उनले आफ्ना छोरालाई नायक बनाएर यसै वर्ष फिल्ममा ल्याएका थिए ।