लेखा समिति सभापति पाेखरेलका स्वकीय सचिवविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा हालेका थिए । उनीविरुद्धको उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ । एमबीबीएसको परीक्षामा नाम निकालिदिने भन्दै अनिलले रकम लिएको आरोप चौधरीको छ ।
यो विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन् । सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन् ।