एशोसियटतर्फ उपाध्यक्षमा उज्वल चौलागाईंको उम्मेदवारी घोषणा
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ (मउवा संघ) को एशोसियटतर्फ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष उज्वल चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन्। आगामी पुष २७ गते हुने मउवा संघको नेतृत्व चयनका लागि चौलागाईले एशोसियटतर्फ उपाध्यक्ष पदमा उम्मेदवारी पेश गर्दै आफ्नो प्यानलको समर्थन प्राप्त गर्ने बताए ।
चौलागाईं, जो हाल मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका छन्, आगामी चुनावमा प्रमोद सिंह रानाभाटको प्यानलबाट उम्मेदवारको रुपमा उठेका हुन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, मैले आफ्नो कार्यकालमा संघको विकास र ब्यवसायिक समुदायको हितका लागि काम गरिसकेको छु र आगामी कार्यकालमा पनि तपाईंहरूको समर्थनसहित संघलाई अझ समृद्ध बनाउन योगदान पुर्याउनेछु । ’
चौलागाईं हाल ब्यसायीहरुसँग सक्रिय भेटघाट र छलफलमा संलग्न छन् । उनले सम्पूर्ण व्यवसायी समुदायलाई आगामी चुनावमा आफूलाई एशोसियटतर्फ उपाध्यक्षको रूपमा मतदान गर्न आह्वान गर्दै भने, तपाईंहरूको मत र विश्वासले नै मलाई यो जिम्मेवारीको सही रूपमा निर्वाह गर्न मद्दत पुर्याउने छु । ’
त्यसैगरी , एशोसियटतफ नै सचिवमा माधव ज्ञवाली , खुल्ला तर्फको सदस्यमा अंकिता सुमार्गी , नवराज खतिवडा तथा औधौगिक क्षेत्रतर्फ सुकृतराज पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघमा यसपटक २,०९७ मतदाता रहेका छन् जसमध्ये एशोसियट तर्फ ८२ जना मतदाता रहेका छन् । आगामी २४ गते साधारण सभा हुने जानकारी प्राप्त भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त साधारण सभाको उद्घाटन गर्ने बताइएको छ । मउवा संघको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ, जसले संघको भविष्य र व्यवसायिक वातावरणलाई थप सुदृढ बनाउने दिशा तय गर्नेछ ।