अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको जर्जियास्थित आफ्नै घरमा १०० वर्षमा निधन भएको हो ।
१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपतिको कार्यकालपछि उनले मानवअधिकार, शान्ति स्थापना र विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।
राष्ट्रपति कार्टरले नेपालमा पाँच पटक भ्रमण गरेका छन् । जसले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। उनी १९८५ मा पहिलो पटक नेपाल आएका थिए । जस क्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरे । त्यसपछि उनी २००७ मा दुईपटक नेपाल भ्रमणमा आए । पहिलो भ्रमणमा उनले नेपालका ग्रामीण समुदायसँग भेटघाट गरेका थिए । भने दोस्रो भ्रमणमा नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउन उनको कार्टर सेन्टरको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
२००८ मा उनले नेपालको संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न नेपाल आए, जसले लोकतान्त्रिक प्रक्रियामा ऐतिहासिक योगदान पुर्यायो। त्यसपछि २०१३ मा उनको भ्रमणले स्वास्थ्य तथा ग्रामीण विकासका परियोजनाहरूमा कार्टर सेन्टरको भूमिकालाई सुदृढ गरेको थियो। अन्तिमपटक उनी २०१५ मा नेपाल आएका थिए । त्यतिबेला उनले भूकम्पपछिको पुनर्निर्माण र राहतकार्यमा पनि चासो दिएका थिए ।
उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र नेपाली जनताको माया र आतिथ्यप्रति सधैँ प्रशंसा गरेका थिए । नेपालमा उनको कार्टर सेन्टरले चुनावी पर्यवेक्षण, स्वास्थ्य सेवा विस्तार, र शान्ति प्रक्रियामा योगदान छ।