अण्डाको मूल्य बढ्यो

हेटाैँडा । नेपालमा कुखुराकाे अण्डाकाे मुल्य बढेकाे छ । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको जनाएकाे छ । शुक्रवार संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानी आज (शनिबार)देखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
आजबाट मध्यम अण्डाको मूल्य पाँच सय रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ५ सय १४ रुपैयाँ पुगेको हो । याे मुल्य अहिलेसम्मकै उच्च बताइएकाे छ ।
यसअघि २७ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ तोकेको थियो । संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने जनाएको छ ।