भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री तथा काङ्ग्रेस नेता मनमोहन सिंहको बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका सिंह ९२ वर्षका थिए । उनको निधनले भारतले एक असल नेता र अर्थशास्त्री गुमाएको छ ।
सिंहको स्वास्थ्य सन् २०२४ को सुरुदेखि नै गम्भीर रहेको थियो । जनवरी २०२४ मा छोरीको पुस्तक विमोचनमा उनको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो ।
अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका उनी हालका वर्षहरूमा स्वास्थ्यकै कारण सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।
भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोही अनुरुप शुक्रबार सबै सरकारी समारोह रद्द गरेको छ ।
पूर्व प्रधानमन्त्री सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो । भारतीय सरकारले शनिबार राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ ।
केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ । कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।
उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन् ।मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो । पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरे र त्यसपछि अक्सफोर्डबाट पीएचडी गरे।