कजाकिस्तान विमान दुर्घटना : ३० जनाको जीवितै उद्धार, बाँकीको मृत्यु भएको आशङ्का

निरन्तर न्यूज
१० पुष २०८१, बुधबार १८:२०

काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३० जनाको जीवितै उद्धार गरिएको छ ।

दुर्घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बीबीसीकाअनुसार कजाकिस्तानका अधिकारीले भनेका छन्, “विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सङ्ख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।”

स्थानीय अधिकारीकाअनुसार विमानमा ५ जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए ।

काजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

रोयटर्स समाचार एजेन्सीले प्रमाणित गरेको भिडिओमा ल्यान्डिङ गियर डाउन भएको विमान तीव्र गतिमा जमिनतर्फ गइरहेको देखिन्छ ।

अवतरण गर्ने प्रयास गरेको सेकेन्डपछि ठूलो फायरबल विस्फोट भएको देखिन्छ ।

जहाजमा अधिकांश अजरबैजानी नागरिक थिए तर रुस, काजाकिस्तान र किर्गिस्तानका केही यात्रुहरू पनि थिए ।

घटनास्थलमा १५० भन्दा बढी तालिमप्राप्त कर्मचारी उद्धारका लागि जुटेका छन् । अजरबैजान र काजाकिस्तान दुवैले दुर्घटनाको कारणबारे अनुसन्धान थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*